वर्षासँगै थप पहिरोको खतरा बढ्यो

वर्षासँगै थप पहिरोको खतरा बढ्यो

मेलम्ची २ असार । भूकम्पका कारण बस्तीमा पहिरो जान थालेपछि सिन्धुपाल्चोक जिल्लाको १८ गाउँका बासिन्दा विस्थापित भइसकेका छन् भने अझै वर्षासँगै थप पहिरो लाग्न थालेपछि जिल्लाका केही बस्ती सङ्कटमा परेका छन् ।

Melamchi
गत बैसाख १२ गते गएको भूकम्पले धोस्त बनाएको मेलम्ची बजार फोटो : आशिष गुरागाई कपन अनलाइन डट कम

इलाका प्रहरी कार्यालय नवलपुरले गरेको सर्वेक्षणअनुसार जिल्लाको सिम्पालकाभ्रे, नवलपुर, कुन्चोक गाविसका १५४ घरधुरीका स्थानीय विस्थापित भएका छन् । अझै कतिपय विस्थापित हुने क्रममा रहेका छन् ।

सिम्पालकाभ्रे गाविसको ठूलो बसेरी, सानो बसेरी, ढाडे बसेरी गाउँका ११६ घरधुरी, नवलपुर गाविस कैदलेको १३ घरधुरी, कुन्चोक गाविसका झ्याडी खोलाको २५ घरधुरी विस्थापित भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक प्रह्लाद अधिकारीले बताउनुभयो ।

विस्थापित हुने बस्तीका स्थानीय केही नवलपुर गाविसको भेडिचौरस्थित सामुदायिक जग्गामा बसेका छन् भने केही जिल्लाको सदरमुकाम चौतारा नगरपालिकास्थित पिपलडाँडामा बसिरहेका छन् ।

जिल्लाको सबै गाउँ भिरालो पाखामा भएको र भूकम्पको कम्पनले कमजोर बनाउँदा वर्षासँगै पहिरो जान थालेपछि बस्ती विस्थापित भएका हुन् । विस्थापित भएकालाई सुरक्षित स्थानमा पठाइसकेको र पहिरो बग्न सुरु गरेदेखि सुरक्षित स्थानमा स्थानीय बस्ती छाडेर गए पनि अझै कतिपय गाविस असुरक्षित हुन सक्ने अधिकारीको अनुमान छ ।

सिम्पालकाभ्रेको ४५ वर्षीय स्थानीय चन्द्रबहादुर तामाङ भन्नुहुन्छ “गाउँ माथि पूरै बस्ती चिरिएको छ, गाउँभरि धाँजा फाटेको छ, बस्न सक्ने स्थिति नै छैन । पहिरो जाने डरले गाउँका सबै अन्यन्त्र सरिसक्यौँ, अहिले पानी पर्न थालेकाले झन ठूलो पहिरो जाने प्रवल सम्भावना छ आश्रय दिनु प¥यो भन्दै समथर ठाउँ खोज्दै नवलपुरको सामुदायिक जग्गामा आइपुग्यौँ ।” उहाँले भन्नुभयो, “अब सरकारले हामीलाई सधँैका लागि बस्ने ठाउँ मिलाइ दिनु प¥यो ।”

जिल्लाका अधिकांश विस्थापित हुनुमा भूकम्पपछिको पहिरो प्रमुख कारण रहेको पाइएको छ ।

तपाइँको प्रतिक्रिया ।