इसानको विशेष साधारण सभा सम्पन्न अध्यक्षमा मदनराज रेग्मी चयन
कपन अनलाइन
काठमाडौं मंगसिर २८ । संस्थागत विद्यालय संघ नेपाल (इसान) ले विशेष साधारण सभा सम्पन्न गरेको छ । मङ्सिर २६ गते सोमबार भएको उक्त साधारण सभाले लिम्पिया नेशनल स्कुल तथा कलेजका प्राचार्य मदनराज रेग्मीलाई केन्द्रीय अध्यक्ष चयन गरेको छ । बाँकी पदहरूलाई यथावत राखी रिक्त रहेको अध्यक्ष पदमात्र पदपूर्ति गरिएको इसानका महासचिव गणेशप्रसाद खतिवडाले कपन अनलाइनलाइ जानकारी गराए । रेग्मी इसानका कार्यवाहक अध्यक्ष थिए ।
अध्यक्ष पदमा निर्वाचित रेग्मीले आगामी दिनमा सबैको सुझाव र सल्लाहलाई समेट्दै इसानलाई चुस्त र फूर्तिलो रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन । संख्यात्मक भन्दा गुणात्मक कामको खाँचो औँल्याउँदै उहाँले इसानका सम्पूर्ण विद्यालयहरूलाई ब्राण्डिङ गर्ने कुरामा आफू केन्द्रित हुने अध्यक्ष रेग्मीले बताएका छन ।
लिम्पिया नेशनल स्कुलमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन इसान पूर्व अध्यक्ष परिषद्का सदस्य बालमुकुन्द कार्कीले गरेका थिए भने पूर्व अध्यक्ष परिषद्का संयोजक राजकुमार श्रेष्ठले कार्यक्रमको अध्यक्षता गरेका थिए । स्मरण रहोस् – आफ्नो ५ औँ अधिवेशनबाट २०७८ चैतमा भीम बहादुर दर्लामी मगरलाई अध्यक्ष चयन गरेको संस्थागत विद्यालय संघ नेपाल (इसान)ले अधिवेशन सकिएको ६ महिना नपुग्दै अध्यक्ष गुमाएपछि नेतृत्व विहीन थियो । भीम बहादुर दर्लामीको २०७९ असोज ५ गते असामयीक निधन भएको थियो ।