चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ

कपन अनलाइन
काठमाडौं,  मंसिर २५।

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध प्रोमेथाजिन २ सय एम्पुल, डाइजेपाम २ सय एम्पुल र बुप्रेनोर्फिन २ सय एम्पुलसहित सप्तरी खडक नगरपालिका-६ बस्ने २१ वर्षीय अनिलकुमार भगतलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । गाईघाटबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०२-००१ ख ५५५५ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाको प्रहरीले जाँच गर्ने क्रममा सिटमा लुकाई ल्याउँदै गरेको उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

सिरहा, नवराजपुर गाउँपालिका-५ कुसण्डीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय १ एम्पुल, बुप्रेनोर्फिन ३ सय १ एम्पुल र फेनारगन ३ सय १ एम्पुलसहित सिन्धुली घर बताउने १९ वर्षीया शरु नेपालीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको बा.७८ प ७९१६ नम्बरको मोटरसाइकलमा सवार उनलाई ईलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी सिरहा धनगढीमाई नगरपालिका-१२ कुस्माहा खुट्टी खोलाबाट अवैध लागूऔषध गाँजा करिब ९२ केजीसहित भगवानपुर गाउँपालिका-४ बस्ने ४४ वर्षीय शिवनाथ मण्डललगायत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूले ४ वटा बोरामा बोकी ल्याउँदै गरेको उक्त गाँजासहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उदयपुर, कटारी नगरपालिका-६ साँगुरीबाट अवैध लागूऔषध गाँजा करिब १ सय २० केजी शनिबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय कटारी र प्रहरी चौकी रिस्कुबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले बोकी ल्याएका ६ वटा बोरा फाली फरार भएपश्चात बोरा जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार अपरिचित व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।