काठमाडौं क्षेत्र नं ५ का स्वतन्त्रहरुले साझा उम्मेदवार छान्न सकेनन…
कपन अनलाइन
काठमाडौं, १ मंसिर ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ का स्वतन्त्र उम्मेदवारहरुले देशलाई थप जरजरहरुबाट जोगाउन आफूहरुलाई मतदान गर्न आग्रह गरेका छन् ।
आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दैै चार स्वतन्त्र उम्मेदवारहरुले देशको अवस्था बिगार्ने राजनीतिक दलहरुलाई पुनः नदोहोर्याउन आग्रह गरेका हुन् ।
देश क्रमशः आर्थिक रुपले टाट पल्टदै गईरहेको उल्लेख गर्दै भुक्तानी सन्तुलन डरलाग्दोसँग ऋणात्मक रहेको स्वतन्त्र उम्मेदवारहरुको ठहर छ । आकासिदो महंगीले जनताको दैनिक जिविका कष्ठप्रद हुँदै गएको छ भने न्याय मरेर कानुनी शासनको समाप्त हुन लागेको उम्मेदवारहरुले संयुक्त रुपले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।
विज्ञप्तीमा लेखिएको छ,‘एकातिर रोजगारीको लागि कामको खोजीमा विदेश जानेहरुको लर्को छ भनेअर्को तर्फ हजारौं विद्यार्थीहरु अध्ययनको लागि विदेशिने क्रम बढीरहेको छ। महंगो औषधी उपचारले सामान्य नागरिकले पीडा सहुनपर्ने स्थिति विद्यमान छ ।’
चर्को कर असुली र जनतालाई आर्थिक रुपले झन विपन्न पार्ने सरकारी योजनाले नेपालीहरुको आउँदा दिनहरु झन कष्ठकर हुने उनीहरुको भनाइ छ ।
पत्रकार सम्मेलनमा बोल्दै स्वतन्त उम्मेदवार बाबुराम पोखरेलले देशमा बढ्दै गइरहेको वेतिथि, अराजकता, नेताहरु जनताप्रति उत्तरदायी नभएको, प्रशासनमा वेतिथि देखेपछि नेतृत्वको लागि चुनावी मैदानमा होमिएको बताएका छन् ।
उनले भने,‘यो देश र समाजका लागि नेतृत्वको लागि हाम्रो पनि केही भूमिका छ भनेर उम्मेदवारी दिएको हो, स्वतन्त्र, स्वतन्त्र बीच भिड्ने मेरो चाहना होइन् ।’
उनले काठमाडौं ५ का जनताले स्वतन्त्र उम्मेदवारहरु एक भएको देख्न चाहेको भन्दै उम्मेदवारहरुबीच जनचाहाना अनुसार एकता हुन नसकेको टिप्पणी गरे ।
उनले आजको पत्रकार सम्मेलनमा पनि १४ जना स्वतन्त्र उम्मेदवारलाई बोलाएकोमा जम्मा ४ जना मात्र उम्मेदवार उपस्थित हुँदा दुःख लागेको बताए ।
काठमाडौं ५ का जनताले पुराना नेताहरुको गद्दारीपन र समाजप्रति गरेको बेइमानीलाई लिएर मंसिर ४ गते हिसाब किताब गर्ने उनले बताए ।
उनले आफ्नो क्षेत्रमा भौतिक विकास धेरै भएको भन्दै ती विकासलाई व्यवस्थापन, प्रशासनिक संरचनाको सुधार, केन्द्र र स्थानीय तहमात्र राखेर प्रदेश र जिल्ला खारेज गर्ने लगायतका आफ्नो एजेण्डा रहेको सुनाए । यी एजेण्डा लिएर जनतामाझ गइरहँदा जनताले राम्रो प्रतिक्रिया दिइरहेको भन्दै आफूले जितेमा यी एजेण्डा पुरा गर्न जनतासँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता गरे । उनी‘पुतली’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार बिनिता अर्यालले घरदैलौको क्रममा जनताले स्वतन्त्र उम्मेदवारहरु एक भएर आए जिताउने बताइरहेको सुनाइन् । कुनै पनि दलबाट उठेका उम्मेदवारहरु स्वतन्त्र हुन नसक्ने उनको भनाइ थियो ।
काठमाडौं क्षेत्र नं. ५ का १४ स्वतन्त्र उम्मेदवारहरु भेला भएर मतदाताको चाहनाअनुसार एक स्वतन्त्र उम्मेदवार चयन गर्ने सल्लाह भएपनि कार्यक्रममा चारजनामा मात्र उपस्थिति हुँदा आफूलाई निकै दुःख लागेको सुनाइन् ।
काठमाडौं ५ मा चार जना मात्र उम्मेदवार स्वतन्त्र रहेको उनले स्पष्ट पारिन । कार्यक्रममा उपस्थित चार जना स्वतन्त्र उम्मेदवारमध्ये जो कसैलाई पनि मत दिन उनले आग्रह गरिन् ।
अर्यालले १३ वर्षदेखि सडकमा हिडेका बालबालिकाहरुलाई अध्ययन गर्ने व्यवस्था मिलाउदै आएको जानकारी दिँदै देशको नीति, नियम, योजना र रणनीति बनाउन उम्मेदवारी दिएको सुनाइन् । उनले निमुखा, गरिब जनताको हितको लागि युवा र महिला नेतृत्व आवश्यकता रहेको बताइन् ।
यसैगरी, स्वतन्त्र उम्मेदवार रमेश केसीले घरदैलोको क्रममा सबै स्वतन्त्र उम्मेदवार मिलेर आउन जनताले आग्रह गरेको स्मरण गराए । मतदाताको चाहाना अनुसार स्वतन्त्र उम्मेदवारहरु एक हुन नसकेकोमा उनले आपक्ति जनाए । स्वतन्त्रहरुबीच पनि छानेर मतदातालाई भोट हाल्न आग्रह गरे ।
२०५१ सालदेखि समाजसेवा गर्दै आएको सुनाउँदै उनले विपदको बारेमा नीति नियम नभएकोले सो विषयमा नीति नियम बनाउने आफ्नो मुख्य लक्ष्य लिएर चुनावमा होमिएको उनले स्पष्ट पारे । उनको चुनाव चिन्ह ‘क्रस खुकुरी’हो ।
डा.गोपीलाल न्यौपानेले देशमा ७० वर्षदेखि राजनीतिक दलहरुले एउटा स्कुलिङबाट एक किसिमको माइन्डसेट तयार गरेको धारणा राखेका छन् । उनले भने,‘त्यो माइण्ड सेटले कलेक्टिभ आइडिया बाहेक केही पनि विकास गरेन, त्यसले व्यक्तिगत स्वतन्त्रतालाई समाप्त पारिदियो ।’ उनले यो निर्वाचनमार्फन नेपालको रुपान्तरण गर्न चाहेको पनि स्पष्ट पारे । उनले स्वतन्त्र भएर समाज र राष्ट्रका नागरिकहरुको हजारौ–हजार आँशु पुस्न चाहेको बताउदै तिनहरुका ओठमा मुस्कान भर्न चाहेको बताए । उनले भने,‘हामी स्वतन्त्रका बाटाहरु अलग–अलग होलान् तर लक्ष्य एउटै छ ।’
स्वतन्त्र उम्मेदवारको नाममा विभिन्न कोणले उम्मेदवारी दिएर जनतालाई भुमरीमा राख्ने काम स्वतन्त्रबाटै भएको जिकिर गरे । उनले भने,‘काठमाडौं ५ मा स्वतन्त्र उम्मेदवारहरुले नाटक मञ्चन गरिरहनुभएको छ । वास्तविक स्वतन्त्र र डमी स्वतन्त्र उम्मेदवारको पहिचान गरेर डमीलाई फालेर स्वतन्त्र छानेर भोट दिनुहोला ।’
उनले विकास निर्माणको काम स्थानीय तहले गर्ने भन्दै सांसदले नीति निर्माण गर्ने बताए । प्रदेश र स्थानीय तहमा गुणस्तर नियन्त्रण मेकानिजम बुल्डअप गर्न चाहेको पनि उनले स्पष्ट पारे ।
मानविय स्वास्थमा ध्यान दिँदै गुणस्तरीय खानाको नियमित जाँच गर्ने, सानो सरकार निर्माण गर्ने आफ्नो एजेण्डा रहेको सुनाए । ठुला–ठुला समस्याको समाधानको लागि जनतामाझ जनमत संग्रह गरेर उनीहरुको चाहानाअनुसार अघि बढ्ने बताए । सरकारी खर्चलाई संसदबाट अनुमोदन गराउने पनि उनको योजना रहेको छ। उनको चुनाव चिन्ह ‘सुर्यमुखी फुल’ हो ।