काठमाण्डौ क्षेत्र नं ५ : ईश्वर पोखरेललाई टक्कर दिन प्रदिप पौडेललाई कठिन

कपन अनलाइन

काठमाडौँ, मंगसिर १।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवाहरु चुनाबी प्रचारमा व्यस्त छन् । निर्वाचन आयोगले दिएको अवधि सकिनै लागेको छ । उम्मेदवारहरुले करिब करिब आफ्नो जित–हारको संकेत पनि पाइसकेको हुन सक्छ ।

यसका लागि मतदाताको बुझाईले पनि मोटोमाटी संकेत पाउन सकिन्छ । काठमाण्डौ क्षेत्र नम्बर ५ र सोही क्षेत्रमा पर्ने प्रदेशसभा १ का मतदातासँग हामीले उनीहरुको मनसाय बुझ्ने प्रयास गरेका छौँ ।

प्रतिनिधिसभामा नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल र नेपाली कांग्रेसका नेता प्रदीप पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने निश्चित छ । विगत लामो समयदेखि सोही क्षेत्रमा बस्दै आएका र अघिल्लो पटकको चुनाब जितेका पोखरेलसँग पौडेलको प्रतिस्पर्धा भए पनि जित भने पोखरेलकै हुने धेरैले बताउने गरेका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत संख्या हेर्दा एमाले नै अगाडि छ । एमालेको भोट संख्याभन्दा ५ दलीय गठबन्धनको भोट संख्या थोरै छ । जसका कारण पोखरेलको जित सहज भएको त्यस क्षेत्रका मतदाता बताउँछन् । त्यस क्षेत्रका मतदता भरत पौडेलले आफूले नजिकबाट नियालिरहेको बताउँदै पौडेलको दौडधुप औपचारिकता मात्रै भएको प्रतिक्रिया दिए ।

“अघिल्लो पटक पोखरेलले कांग्रेसका डा. प्रकाशशरण महतलाई भारी मत अन्तरले पराजित गर्नुभएको हो । यसपटक महत हार्ने निश्चित भएपछि उम्मेदवार नै बन्नुभएन । प्रदिप पौडेललाई त तनहुबाट ल्याएर उम्मेदवार बनाउनु औपचारिकता मात्रै हो ।” पौडेल भन्छन् । पौडेललाई कांग्रेसको मतले मात्रै चुनाब जित्न त असम्भव छ नै, गठबन्धनबाट पनि सबै भोट खस्ने देखिदैन ।

कांग्रेसभित्रैको असन्तुष्टी, माओवादी र नेकपा एसको नगन्य संख्याको भोट नै प्रदिपलाई चुनाब हराउने आधार भएको कतिपयको बुझाई छ । भन्दा ५ दलीय गठबन्धन भने पनि त्यस क्षेत्रमा राष्ट्रिय जनमोर्चा र लोसपाको एक भोट पनि भेट्न गाह्रो छ । यस्तो अवस्थामा पोखरेललाई एमालेकै भोटले मात्रै पनि सहजै जिताउने त्यहाँका मतदाता प्रदिप महत बताउँछन् ।

पोखरेल यसअघि २०६४ र २०७० सालका दुवै संविधानसभाको निर्वाचनमा कांग्रेस नेता नरहरि आचार्यसँग पराजित भएका थिए । दुईपटक पराजय भोगेका पोखरेलले ७४ मा भने कांग्रेसका महतलाई पराजित गरे । जसका कारण यसपटक उनै महत यस क्षेत्रबाट उम्मेदवार बन्ने हिम्मत नै गरेनन् । टुरिष्ट उम्मेदवारको रुपमा पौडेल खडा भएकाले अहिले पनि ७४ कै नतिजा दोहोरिने देखिन्छ ।

पौडेल भने ७४ को चुनाबमा तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा माओवादीकी आशा कोइरालासँग ५ मतले पराजित भएका थिए । काठमाडौँ महानगरको वडा नम्बर २, ३, ४, ५ र बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ६ र ७ लाई संयोजन गरेर निर्वाचन क्षेत्र नम्बर ५ तोकिएको छ ।

उक्त निर्वाचन क्षेत्रमा लाजिम्पाट, महाराजगञ्ज, बालुवाटार, हाडीगाँउ लगायतका स्थानहरू पर्दछन् । त्यस क्षेत्रमा पोखरेल अघिल्लो पटक निर्वाचित भएपछि गरेका काम, जनतासँगको निकटता, राष्ट्रिय राजनीतिमा पहुँचलगायतका कारण पनि पौडेलले कडा टक्कर दिन कठीन देखिन्छ । अर्कोतिर उम्मेदवार पौडेल स्वयमले आफैलाई मतदान गर्न पाउँदैनन् । उनी तनहुँका मतदाता हुन् । क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा पनि अघिल्लो पटक विजयी भएका एमालेका नारायण सिलवाल यसपटक पनि उम्मेदवार बनेका छन् ।

सिलवालले पनि निर्वाचन जित्ने अवस्था देखिन्छ । शालिन र विकासप्रेमी नेताको छबी बनाएका सिलवालले अघिल्लो कार्यकालमा सम्पदा संरक्षण, हरियाली, पार्क निर्माण र अन्य विकास निर्माणका काममा देखाएको सक्रियताले मतदाता सन्तुष्ट देखिन्छन् । फेरी एकपटक सिलवालाई नै मौका दिने पक्षमा रहेका त्यस क्षेत्रका मतदाता हरी केसी बताउँछन् ।

“सिलवालको एक कार्यकाल हामीले हेरिसकेका छौँ । उहाँ यस क्षेत्रका मतदाताको मन जित्न सफल हुनुभयो । त्यसैले फेरी पनि उहाँलाई नै निर्वाचित गराउँदा यस क्षेत्रका नागरिकले पछुताउनुपर्दैन भन्ने हाम्रो बुझाई रहेको छ ।” केसीले बताए ।

जनतासँग जनप्रतिनिधि कार्यक्रम संचालन गरेर वडा नम्बर ४ को हरेक टोलमा पुगेर उनी आफ्नो ५ वर्षे कार्यकालमा कहिलै पनि मतदाताबाट टाढा रहेनन् । आफ्नो निर्वाचन क्षेत्र प्रदेशसभा १ मा पर्ने काठमाण्डौ महानगरपालिकाको वडा नम्बर ४ मा टुँडालदेवी मन्दिर र पार्क, चुनदेवी मन्दिर र सामुदायिक भवन र पार्क, पञ्चकुमारी मन्दिर, धुम्बाराही मन्दिरको पर्खाल निर्माण, धोविखोला करिडोर, सुकेधारामा खानेपानी व्यवस्थापन, चण्डोल क्लबको भवन पुनर्निर्माण, विशाल मिलनकेन्द्र भवन, प्याराफिट, बासकेटबल कोर्ट तथा पार्क पुननिर्माणलगायतका कार्य सम्पन्न गरेका छन् ।

त्यसैगरी वडा नम्बर ५ मा गोरखनाथ मन्दिरको सत्तल, पञ्चेधारा, हाँडीगाउँस्थित सत्यनारायण मन्दिरको सत्तल र चारतैतिरको पर्खाल पुनर्निमाण, गहनापोखरीस्थित सत्तल निर्माण, हाँडीगाउँ कोटालटोलस्थित त्रिशक्ति क्लबको भवन पुनर्निर्माण, कोटालटोलस्थित कोटागुठी घरको पुनर्निर्माण, हाँडीगाउँ ओरालोमा रहेको ढुंगेधारा पुनर्निर्माण, रुद्रमतिस्थित नमोबुद्ध विहारसँगैको पार्क निर्माण, भीमसेनथानस्थित भीमसेन मन्दिरको पर्खाल तथा सोही स्थानमा बासकेटबल कोर्ट निर्माण लगायतका काम सिलवालको अघिल्लो कार्यकालमा सम्पन्न भइसकेको छ । वडा नम्बर २ को खुर्सानीटारमा खानेपानी व्यवस्थापन भएको छ ।

जसका कारण त्यस क्षेत्रका मतदाता पनि सन्तुष्ट छन् । सोही वडामा टुकुचा खोलाले डुबानको समस्या थियो । अहिले डुबानको समस्या केही कम भएको छ । ईश्वर पोखरेल रक्षा मन्त्री भएका बेला नेपाली सेनासँगको सहकार्यमा टुकुचा खोलाको बाँध भत्काएर निकास दिएपछि डुबानको आधा समस्या समाधान भएको हो । वडा नम्बर २ मा नै कैलाशचौरस्थित मन्दिर र पार्टी पुनर्निर्माण सम्पन्न भएको छ ।

तपाइँको प्रतिक्रिया ।