काठमाडौं क्षेत्र नं ९ का स्वतन्त्र उम्मेदवार माथि हमला, कुटपिटमा संलग्नलाई कारबाहीको माग

कपन अनलाइन

काठमाडौँ, कात्तिक ३०।

काठमाडौं क्षेत्र नं ९ प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवार राजेन्द्र प्रसाद पाठकले आफू माथि चुनावी प्रचारको क्रममा सांघातिक हमला भएको भन्दै सो घट्नामा संलग्न दोषी माथि कारबाही गर्न माग गरेका छन् ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । ‘खर्पन बोकेको मान्छे’चिन्ह लिएर चुनावी मैदानमा रहेका पाठकले आफ्ना एजेण्डा देखेर डराएकाहरुले नै आफू माथि हमला गरेको दाबी गरेका छन  ।

उक्त घट्नाबारे उनले प्रहरी प्रशासनलाई मौखिक रुपमा जानकारी गराएका छन् । तर, चुनावी प्रचारको लागि समय नभएकोले भोलि मात्रै उनले लिखित उजुरी पेश गर्ने जनाए ।
उनले आफूमाथि हिजो (मंगलबार) राति चन्द्रागिरी नगरपालिकामा कार्यक्रम सकाएर किर्तीपुर हुँदै घर फर्कने क्रममा बाघभैरव रोडको छेउमा आक्रमण भएको जनाए । उनले भने,‘त्यहाँमलाई एक्कासी लाठी प्रहार भयो । युवाहरुको समूहले ममाथि आक्रमण गरेको हो । म त मोटरसाईकल कुदाएर भागेर नयाँ बजार पुगें । साथीहरु बोलाएर औषद्योपचार गरेको छु ।कसले आक्रामण गर्यो, भन्ने थाहा छैन् । चोट घाउ, हातमा छ । देव्रे हातमा चोट लागेको छ ।’ उनले आफ्नो लोकप्रियता देखेर नै सत्ता गठबन्धन वाएमाले नेतृत्वको गठबन्धन मध्येबाट नै आक्रमण भएको हुनसक्ने अनुमान मात्रै गरेका छन  ।
उनले आफ्नो चुनावी एजेण्डामा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने कुरा उल्लेख गरेका छन् । उनले भने,‘खानेपानी पनि निःशुल्क हुनुपर्छ । सबै राजनीतिक नियुक्ती खारेजी हुनुपर्छ । म जनताको एजेण्डा संसदमा बोल्छु ।’ उनले मुलुकमा विद्यमान धर्मनिरपेक्षता र संघीयता खारेज गर्नुपर्ने पनि मुख्य मुद्दा बनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।