आज हरिबोधनी एकादशी, बुढानिलकण्ठ मन्दिरमा भक्तजनहरुको भिड
कपन अनलाइन
काठमाडौं कात्तिक १८ ।
हरिबोधनी एकादशीको अवसरमा बुढानिलकण्ठ नगरपालिकाको धार्मिकस्थल बुढानिलकण्ठ मन्दिरमा बिशेष मेला एवम पूजा गर्नेहरुको भीड लागेको छ ।हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर ‘विष्णु’ को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा निदाएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ ।
धार्मिक मान्यता अनुसार आजको दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेष नारायण, इचँगुनारायण र विशङ्खुनारायण दर्शन गरेपछि बुढानिलकण्ठ नारायणको दर्शन गर्नुपर्ने मान्यता रहेको छ । सोहि कारणले गर्दा पनि धेरै भक्तजनको बिहानै देखि मन्दिर परिसरमा भीड लागेको छ ।
हिन्दु धर्मालम्बीहरु बिहानै नदी, तलाउ, धारा र कुवामा गई चोखो पानीले नुहाइ ब्रत बसेका छन। आज विहानैदेखि तुलसीको पूजा गरी तुलसी बिवाह गरिदै छ। घरघरमा रहेका तुलसीका मठ सिंगारपटार गरी मठ छेउमा साल, बाँस वा उखु गाडेर तुलसीको विवाह गर्ने चलन रहेको छ।घरमा तुलसी नरोप्नेहरु समेत छिमेकी कहां गएर तुलसीको पुजा गर्ने गर्दछन। अक्सिजन बढी दिने र सुगन्ध आउने बनस्पति हुनाले तुलसीलाई औषधीको रुपमा समेत प्रयोग गरिन्छ।बुढानिलकण्ठ नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा नगरपालिका भरि सार्वजनिक बिदा समेत दिएको छ।