काठमाण्डौ क्षेत्र नं ३ (२ ) को मैदानमा दोश्रो पटक रामेश्वर फुँयाल र बिमल ठकुरी,कसले मार्ला बाजी ?
कपन अनलाइन
काठमाण्डौ,कार्तिक १७।
काठमाण्डौ क्षेत्र नं ३ (२ ) को मैदानमा दोश्रो पटक रामेश्वर फुँयाल र बिमल ठकुरी आमने सामने भएका छन।
२०७४ सालको प्रदेस सभा सदस्यको निर्वाचनमा विजयी बनेका नेकपा एमालेका फुँयाल दोश्रो पटक विजयी बन्ने अभियानमा रहेका छन भने सो निर्वाचनमा झिनो मतले पराजित भएका ठकुरी सो घाउ पुर्दै यस पटक विजयी बन्ने अभियानमा सक्रिय देखिएका छन।
२०७४ सालको निर्वाचनमा बाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेर विजयी बनेका फुँयाल बागमती प्रदेसका पुर्व भौतिक पूर्वाधार मन्त्रि हुन् भने ठकुरी नेपाली कांग्रेस क्षेत्र नं ३ (२ ) का सभापति रहेका छन।
२०७४ सालमा भएको निर्वाचनमा फुँयालले १०,८८६ मत प्राप्त गरेका थिए भने ठकुरीले १०,८१९ मत प्राप्त गरेका थिए। सो निर्वाचनमा ६७ मतले विजयी बनेका फुयाँल र नेपाली कांग्रेसका ठकुरी यस पटक भने एक्ला एक्लै चुनावी मैदानमा रहेका छन।
बाम लोकतान्त्रिक गठबन्धन बन्न नसकेको सो प्रदेस क्षेत्रमा नेकपा माओवादी केन्द्रका महेश्वर फुँयालले प्रदेस सभा सदस्यको उम्मेद्वारी कायम राखेर प्रचारमा सक्रिय बने संगै चुनावी प्रतिस्पर्धा निकै रोचक बन्ने अनुमान गर्न थालिएको छ।
गोकर्णेश्वर नगरपालिकाका ७ वडा र कागेश्वरी मनोहरा नगरपालिकाका ३ वडा रहेको काठमाण्डौ क्षेत्र नं ३ (२ ) का १० वटा वडा रहेको यस निर्वाचन क्षेत्रका ८ वडामा नेकपा एमालेका अध्यक्ष रहेका छन भने २ वटा वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन।
काठमाण्डौ क्षेत्र नं ३ (२ ) मा नेकपा एमालेबाट निर्वाचित भएका वडा अध्यक्षहरुले प्राप्त गरेको कुल मत ११,१४७ रहेको छ भने नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको कुल मत ९,४५४ रहेको छ । निर्वाचन आयोगको मत परिणाम अनुसार यस क्षेत्रमा नेकपा एमाले १६५३ मतले अगाडी रहेको छ।
काठमाण्डौ क्षेत्र नं ३ (२ ) मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवारहरुले १७६२ , नेकपा एकीकृत समाजवादीले १०२४ र राप्रपाका वडा अध्यक्ष उम्मेदवारहरुले १३१४ मत प्राप्त गरेका छन ।