धार परिवर्तन गर्दै बगेको मनोहरा खोला पुरानै अवस्थामा फर्काइयो
कपन अनलाइन
काठमाडौँ, असोज २७ ।काठमाडौं र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोला पुरानै अवस्थामा फर्काइएको छ । गत साउन २४ गते रातीको अविरल वर्षासँगै बाढी आएर धार परिवर्तन गर्दै बगेको मनोहरा खोला पुरानै अवस्थामा फर्काइएको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ का वडाअध्यक्ष भीमसेन थापाले जानकारी दिएका छन ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र बाग्मति सभ्यता एकीकृत बिकास समितिका कृष्ण कुमारलगायत सबै राजनितिक दलका प्रतिनिधिहरुको संयुक्त प्रयास पछि धार परिवर्तन गर्दै बगेको खोला फर्काउन सफल भएको वडाअध्यक्ष थापाको भनाइ छ ।
मनोहरा खोलाले बितण्ड मच्चाएपछी कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जिवन खत्री र मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले संयुक्त रुपमा सार्वजनिक अपिल जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेका थिए । भने खोलाको वहावलाई सामान्य अवस्थामा ल्याइ पुरानै अवस्थामा फर्काउन पहल गर्ने बताएका थिए ।
मनोहरा खोला अहिले २०२१ सालको नक्साअनुसार पुरानै रुपमा बगिरहेको छ । पूर्ण रुपमा काम सम्पन्न नभएपनि अबका दिनमा त्यस क्षेत्रका स्थानीयले बिगतमा जस्तो पिडा भोग्नु नपर्ने कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले बताए । उनकाअनुसार केहि ठाउँमा स्थानीयको अवरोधका कारण काम सम्पन्न हुन ढिला भएको थियो । तर जनप्रतिनिधिलगायत बिभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीयसहित सरोकारवाला निकायको सहयोगमा द्रुत गतिमा काम भइरहेको छ ।
फोटो सौजन्य : हाम्रो संचारडट कम