बडा दशैं शुरु, आज घटस्थापना

कपन अनलाइन

काठमाण्डौ ,असोज १०।

नेपालीहरुको महान पर्व बडा दसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।आज  पूजा कोठा वा दसैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।

आजको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको साइत बिहान १०: २३ बजे रहेको नछ  ।

सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको उनले बताए । दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रुपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ । वडादसैंको सातौं दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दसैं घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् ।

आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १९ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ ।

असोज १९ गते देवी विसर्जनको साइत बिहान १० : ३४ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ स् ५१ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ

तपाइँको प्रतिक्रिया ।