गोकर्णेश्वर ८ ले अव्यवस्थित तारहरु हटाउने अभियान शुरु गर्यो

गोकर्णेश्वर ८ ले अव्यवस्थित तारहरु हटाउने अभियान शुरु गर्यो

कपन अनलाइन

काठमाडौं, भाद्र ३२ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ ले  अव्यवस्थित भएको तारहरु  हटाउने अभियान शुरु गरेको छ । जताततै लत्रिएको तारका कारण  नगरलाइ कुरुप बनाएको र दुर्घटना र आगलागीका घटना पनि बढाएकाले अव्यवस्थित तारलाई हटाउन लागेको  वडा अध्यक्ष नन्दलाल श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए।

बिजुलीका पोलमा टेलिफोन, इन्टरनेट र बिजुलीका तारको भार छ। एकै ठाउँमा टाँगिदा सबै खाले तार बटारिएका छन्। कयौं बिजुलीका पोल पुराना भइसकेका छन्। अव्यवस्थित रूपमा यत्रतत्र झुन्डिएका तारले  नगरलाइ कुरूप बनाएको  र ती गुजुल्टिएका तारका कारण कतिबेला दुर्घटना निम्तिने हो कुनै ठेगान छैन।  नगरलाइ यो हविगतले जति कुरूप बनाएको छ, त्यति जोखिम पनि निम्त्याएको हुँदा यो अभियान शुरु गरेको उनले प्रष्ट पारे ।

उनले तत्कालको लागि सडकमा लत्रिएका तारलाई काटिदिएको  र झोल्लिएका तारलाई मुठा बनाएर राखीदिएको पनि बताए । तार व्यवस्थित गर्नको लागि सम्बन्धित निकायलाइ समय सिमा तोकेर जानकारी गराइएको  र उक्त अवधीमा पनि तार व्यवस्थित नगरेमा पुनः वडाले तार काट्ने पनि   अध्यक्ष श्रेष्ठले जानकारी  गराए ।    वडा अध्यक्ष नन्दलाल श्रेष्ठको नेतृत्वमा भएको सो कार्यमा जन प्रतिनिधि ,नगर प्रहरी,  र प्राबिधिकहरुले सहजीकरण गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।