भो कपन डुवानको कुरै नगर ……..

भो कपन डुवानको कुरै नगर ……..

कपन अनलाइन

काठमाण्डौ ,साउन ११ ।

आज साउन ११ गते बुधवार दिउसो आएको एक झर पानीले  कपन क्षेत्र नराम्रो संग डुबेको छ । करिव दुई दशक देखि निरन्तर डुवानको प्रहार सहदै आएको कपन आज पनि अर्को डुवानको साक्षी बनेको छ।

कपन र डुवान दुई वटा शव्द एक अर्काको परिपुरक जस्तै बनेको अवस्थामा आज पनि धेरै क्षेत्रमा डुवान हुँदा जनजीवन निकै कस्टकर बनेको छ भने धेरै जनाले आफ्नो श्रम र समय नडुबेको सडक र बाटो पत्ता लगाउनलाई खर्च गर्नु परेको छ।

कपन आनी गुम्बा देखि साततले सम्मको मुख्य सडक खोलामा परिणत भएको थियो भने सडक आसपासका ब्यापारी र घरधनीहरु निरिह तमासे बनेका थिए।

निरन्तरको डुवान कथाले घरजग्गा किनबेच ठप्प रहेको कपन क्षेत्रका बाढीका कारण पसल,व्यवसाय ,शैक्षिक संस्था र कल कारखानामा समेत प्रत्यक्ष असर परिरहेको छ।

यसको प्रत्यक्ष मारमा कपन क्षेत्रकै ठुलो मिलनचोक तरकारी बजार बनेको छ भने सडक क्षेत्रका कतिपय पसल र कल कारखानाहरु बन्द हुने अवस्थामा पुगेका छन।

सडकमा खोला बगे सानै जिर्ण बनेको सडकको कारण निकै मारमा परेका  क्षेत्रमा बनेको शिक्षा र यातायात रहेको छ। अहिले कतिपय स्थानमा स्कुल बस पुग्न नसकेर अभिभावकहरुले विद्यालय परिवर्तन गर्ने गरेको विद्यालय संचालकहरुले दुखेसो पोख्दै आएका छन। त्यस्तै यातायात व्यवसायीहरु पनि बाढीले बिगारेको सडकका कारण निकै शास्ती पाएको भन्दै पटक पटक खबरदारी गर्दै आएका छन।

त्यस्तै कपन क्षेत्रबाट कार्यालय गएका कतिपय व्यक्तिहरु पानी पर्ने वितिक्कै अव घर कसरि जाने होला ? भनेर चिन्ताको भुमरीमा पर्ने गरेका छन भने बिहान बेलुकी सडक किनारमा व्यवसाय गरेर हातमुख जोड्दै आएकाहरु सांझको छाक कसरि टार्ने भन्ने पिरमा रहने गरेका छन।

नदि र खोलालाई ढलमा थन्काएर केहि वर्ष मस्त विकासको नमुना प्रस्तुत गरेको भनेर दावी गरिदै आएको र केहि समय आवासीय क्षेत्रका रुपमा चर्चित बनेको बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्र अहिले निकै समस्या ग्रस्त क्षेत्र बन्दै गएको छ। जसको प्रमुख कारण भनेको यस क्षेत्रमा हुने गरेको डुवान नै हो।

डुवान समस्याको प्रत्यक्ष पिडित रहेको यो पंक्तिकारले माथि यसरि कारुणिक कथा बुनेको कपन क्षेत्र नेपाली राजनीतिका चर्चित दुई पात्रहरुको निर्वाचन क्षेत्र हो।

नेपालका दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी सत्तामा प्रभावशाली भूमिका खेल्ने दुई नेता संगै कपन क्षेत्र रहेको बुढानिलकण्ठ नगरपालिका नेपालका रास्ट्रपति र प्रधानमन्त्रीको गाउँ पनि हो।

यो निर्वाचन क्षेत्र कुन प्रभावशाली नेताहरुको हो भन्ने कुरा केहि दिन देखि काठमाण्डौ क्षेत्र नं ४ का नेता तथा कार्यकर्ताहरुको सामाजिक संजाल हेर्दा प्रस्ट बुझिन्छ।

पार्टी सत्ताको केन्द्रमा प्रभाव जमाउने दुई नेताका आसेपासे र चेला चपेटा सहित स्थानीय नेताहरुले समेत यहि कपन  डुवानको विषयलाई लिएर खेलेको राजनीतिक दोहोरी हेर्दा तपाईहरुले पत्ता लगाई सक्नु भयो तिन नेता हुन् नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराई।

पार्टीमा केहि स्थान पाइने आशले,पार्टीबाट खाइपाई आएको डुब्ने त्रासले अनि यसै गरेर भक्ति गाउँदा दुई समय चलेको  गाँसले गर्दा संचार माध्यम ,सामाजिक संजाल र चियागफमा चर्किने ति “दोहोरी गायक” हरुको स्तुति गानलाई आजको बाढीले नराम्रो संग बगाएको छ।

विषयको गाम्भीर्यता ,पिडितहरुको भयावह अवस्था र कपन क्षेत्रमा लागेको कलंकलाई मेटाउनु साटो आरोप र प्रत्यारोपको खेती गरिरहेका कतिपयको प्रहसनलाई पनि आजको बाढीले नराम्रो संग डुबाइदिएको छ।

कपन क्षेत्रका डुवान पिडितहरुको मनोभाव बुझ्दा केहि दिन देखि भैरहेका डुवान केन्द्रित आरोप प्रत्यारोप र दोहोरीले निकै टिठलाग्दो र नमिठो प्रभाव पारेको छ। लाइक,कमेन्ट ,भ्युज र न्यानो राजनीतिक धाप खानेलाई यो प्रसंगले नबिझे पनि यसबाट प्रत्यक्ष पिडितहरुलाई भने केहि दिन देखि चलिरहेको प्रहसन घाउको खिल झैँ पक्कै बिजेको महसुस गर्न सकिन्छ।

डुवान समस्या उठाएर एक अर्काको मुखमा हिलो छ्याप्दै विभिन्न श्वरका नगडा बजाउने र तिनैको तालमा मच्चिने नेताहरुलाई त् यो तमासा लागेको होला जुन आउछ अनि जान्छ । तर डुवानमा तैरिरहेको राजनीतिको डुंगा भने धेरै दिन तैरिन दिने अवस्थामा पिडित कपनवासी भने रहेका छैनन।

सायद उनीहरु भनिरहेका छन आशा ,आश्वासन, आग्रह ,पुर्वाग्रह अनि ढाडसका भारीले बाढी भन्दा बढी थिचिसकेको छ त्यसैले कि समाधान गर नत्र यसको कुरै नगर।

डुवानले  दुखि बनेका कपनवासीहरुले अहिले एक आवाजले भनिरहेका छन “हाम्रो पिडामा राजनीति नगर्नुस ” । २० वर्ष देखि डुवान समस्या समाधान गर्ने  राजनीतिक आलापले आक्रान्त बनेका सो क्षेत्रका जनताको एक मात्र आवाज भनेको अहिले यो समस्याबाट मुक्ति नै रहेको छ।

स्थलगत रिपोर्टिंगका लागि डुवान क्षेत्रमै पुगेको यो पंक्तिकार संग पिडित स्थानीयहरुको  एकै  प्रश्न थियो , लेखेर के हुन्छ ?भो कपन डुवानको कुरै नगर …….

 

 

तपाइँको प्रतिक्रिया ।