उपत्यकाको भग्नावशेष चोभार र बागमती नदी किनारमा
काठमाडौँ, २० जेठ । गत वैशाख १२ को भूकम्प र त्यपछिका अनुकम्पले जीर्ण बनाएको काठमाडौँ उपत्यकाको भवनको भग्नावशेष बागमती नदी किनार आसपासका खाल्डा र चोभारस्थित हिमाल सिमेन्ट कारखानाले बनाएको खाल्डो पुर्ने तयारी गरेको छ ।
ती भग्नावशेषलाई उपत्यकाभित्र महानगरपालिका तथा नगरपालिकाको कुनै ठाउँमा थुपार्ने त्यसपछि ती स्थानका खाल्डा पुर्न लगिने तयारी भएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराई बताउनुहुन्छ ।
हाल उपत्यकाभित्र महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाभित्र चार हजारभन्दा बढी भवन भत्काउनुपर्ने अवस्थामा रहेको र तीमध्ये करिब ९०० भग्नावशेषका रूपमा रहेका भवन भत्काइसकिएको नेपाली सेनाले जनाएको छ ।
काठमाडाँैमा एक हजार ४५१, ललितपुरमा ६०५ तथा भक्तपुरमा दुई हजार जति भवन भत्काउन पर्ने अवस्थामा रहेको र तीमध्ये करिव दुई हजार ठूला भवन भत्काउन साधनस्रोतको अभाव रहेको ती नगरपालिकाबाट प्राप्त विवरणमा उल्लेख छ ।
यसैबीच, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले त्यस्ता ठूला भवन भत्काउन आवश्यक उपकरण चीन, भारत, अमेरिका र जापानसँग सहयोग माग्ने तयारी मन्त्रालयले गरेको व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा मङ्गलबार आयोजित छलफलमा जानकारी दिनुभएको छ ।
उहाँले आवश्यक केही उपकरण सरकारले नै खरिद गर्ने पनि उल्लेख गर्नुभएको छ । रसुवा, सिन्धुपाल्चोक, दोलखालगायत भूकम्पबाट अतिप्रभावित केही जिल्लाका भग्नावशेष हटाउन संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले सहयोग गर्ने भएको स्थानीय विकास मन्त्रालयका सहसचिव गोपिकृष्ण खनाल बताउनुहुन्छ ।
उहाँका अनुसार भग्नावशेषको व्यवस्थापन आफैँ गर्न जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत कामका लागि नगद प्रदान गर्ने गरी निर्देशिका तयार भएको छ ।
सहरी क्षेत्रमा घरभेटी सुरक्षित भवनमा बस्ने तर व्यापारिक प्रयोजनका लागि बनाइएको भवन असुरक्षित भए पनि रातारात टालटुल पारेर बस्न हुने देखाइएको, केही स्थानमा जीर्ण भवन सम्बन्धित व्यक्तिले भत्काउन चाहे पनि त्यसको असर पर्ने छिमेकीले विरोध गरेको, उपत्यकाभित्र गाविसबाट नगरपालिका भएपछि मापदण्डभित्र परेका केही भवनको नक्सा पास नभएको र मापदण्डभन्दा बढी तला उठाएको जस्ता समस्या देखिएकाले सरकारले अर्को निर्देशिका बनाउनुपर्ने भएको सहसचिव खनाल बताउनुहुन्छ । रासस