संविधान निर्माणमा ढिलाई गर्न नहुनेमा जोड
काठमाडौँ, २० जेठ । विभिन्न राजनीतिक दलका नेताले संविधान निर्माणमा दलहरूबीच देखिएका मतभेद हटाइ चाँडो सहमति खोज्नुपर्ने सुझाव दिएका छन् ।
रिपोर्टर्स क्लवले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनीहरूले भूकम्पका कारण संविधान निर्माणमा ढिलाई गर्न नहुनेमा जोड दिएका हुन् ।
नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले सङ्घीयताको विषयमा सात प्रदेश निर्माण गर्न ठूला दल लगभग सहमतिको नजिक रहेको जानकारी दिँदै सिमाङ्कन सङ्घीय आयोग तथा नामाङ्कन सङ्घीय प्रदेशले गर्ने विषयमा दलहरूबीच सहमति भए संविधान निर्माणमा सकारात्मक परिणाम आउने आशा व्यक्त गर्नुभयो । उहाँले वर्तमान सरकारमा अन्य दल सहभागी भई त्यसलाई नै राष्ट्रिय सहमतिको सरकारमा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले भूकम्पले गर्दा मुलुक अभुतपूर्व सङ्कटमा फसेकाले राष्ट्रिय शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पार्टीले संविधान जारी गर्ने कार्यलाई प्राथमिकतामा राखेको, राष्ट्रिय सहमतिको सरकारको विकल्पमा छलफल भइरहेको जनाउँदै त्यस्तो सरकारको नेतृत्वकोे बारेमा अहिले नै निक्र्यौल नभएपनि पार्टीले जिम्मेवारी लिएमा पार्टी अध्यक्षले नै सरकारको नेतृत्व गर्ने प्रस्ट पार्नुभयो ।
सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले प्रदेशको विभाजन गर्दा पहिचान र भुगोललाई विशेष ध्यान दिनुपर्ने विचार व्यक्त गर्दै आफ्नो दल सरकार बनाउने तथा ढलाउने कार्यमा नलाग्ने बताउनुभयो ।