विश्वेश्वरप्रसाद कोइरालाका योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस मनाइदै

विश्वेश्वरप्रसाद कोइरालाका योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस मनाइदै

कपन अनलाइन

काठमाडौँ,साउन ६ । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनि नेपालको  पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।

प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीलाई बन्दी बनाइएको सुन्दरीजल बन्दगृहलाई विसं २०६१ भदौ २४ गते बिपी संग्रहालयका रुपमा उद्घाटन गरिएको थियो । बिपीको जीवनका महत्वपूर्ण चीजबीजको संकलन गरी दर्शनीय बनाइएको संग्रहालय विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेपछि पुरातत्व विभागले पुनःनिर्माण गरिरहेको छ ।संग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै विसं २००७ को क्रान्तिमा प्रयोग गरिएको ट्यांकर, कांग्रेसले विसं २०२९ जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान पनि राखिएको छ। बिपी संग्रहालय समितिले स्मृति दिवसमा  औपचारिक कार्यक्रम नराखे पनि इच्छुक,शुभेच्छुकहरुले संग्रहालय परिसरमा रहेको बीपीको पूर्ण कदको शालिकमा माल्यार्पण एबम पुष्प गुच्छा अर्पण गर्न सकिने जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।