संरचना हटाउन उपकरण खरिद गरिँदै

संरचना हटाउन उपकरण खरिद गरिँदै

काठमाडौँ, २० जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भूकम्पबाट भत्किएका दुई तलामाथिका धराप संरचनाको भग्नावशेष हटाउन ६० वटा उपकरण खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

IMG_5618

भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, अर्थ, गृह, रक्षालगायत मन्त्रालयका पदाधिकारीको बैठकले यी उपकरण सरकारसँग नभएकाले खरिद प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

बैठकमा रु छ अर्बको उपकरण खरिद गर्नुपर्ने निष्कर्ष निकाले पनि अर्थ मन्त्रालयले बजेट अभावमा रु ५५ करोड मात्र निकासा गरेकाले ६० वटा उपकरण खरिद गर्न लागिएको मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले जानकारी दिनुभयो ।

“बाहिरबाट ल्याउनुपर्ने ट्र्याक एक्स्काभेटर विथ लङ एण्ड डेमोलेसन एट्याचमेन्ट, सेल प्रोपल्ड ह्यामर, ४० टनको क्रेन र लोड ट्याक्टर ट्रेलरलगायत उपकरण ७५ दिनभित्र र अन्य नेपालमै पाइने उपकरण १५ दिनभित्र खरिद गरी भग्नावशेष हटाइनेछ”–उहाँले भन्नुभयो ।

सडक विभाग यान्त्रिक महाशाखाका उपमहानिर्देशक हरेराम आचार्य बाहिरबाट ल्याउनुपर्ने उपकरण ६० दिनभन्दा ढिला ल्याएमा जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको बताउनुहुन्छ ।

उपकरण खरिद गर्न जेठ २२ गते शुक्रबारसम्मको समय दिएर टेण्डर आह्वान भइसकेको छ । अहिले भएका उपकरणले दुई तलाभन्दामाथिको भग्नावशेष र धराप भत्काउन अप्ठ्यारो भएकाले यी उपकरण खरिद गर्नुपरेको मन्त्रालयले जनाएको छ । यी उपकरणले सात तला सम्मको धराप हटाउन सक्नेछ ।

भूकम्पपछिको समयमा सिधै सप्लायर्स छनौट गरेर उपकरण खरिद गर्न सकिने भएपनि बढी पारदर्शिता कायम गराउन प्रतिष्पर्धा गराउन लागिएको हो । रासस

तपाइँको प्रतिक्रिया ।