केन्द्र स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद सुरु

केन्द्र स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद सुरु

कपन अनलाइन
काठमाडौं, असार २९।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि राजधानीमा सुरु भएको छ ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा मन्त्री गहतराजले विद्यालयस्तरीय प्रतियोगिताबाटै भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको पहिचान गर्न सकिने भएको हुँदा प्रतियोगिता महत्वपूर्ण भएको बताए ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले विद्यालयस्तरीय प्रतियोगितानै खेलकुदको मेरुदण्ड भएको धारणा व्यक्त गर्दै कलिलो उमेरका खेलाडीलाई संरक्षण गर्न सके देशका लागि सक्षम खेलाडी तयार गर्न टेवा पुग्ने बताए ।
उद्घाटनका अवसरमा सहभागी पाँचै प्रदेशका खेलाडीले मार्च पास्ट गरेका थिए । कपन टाइगरका तेक्वान्दो खेलाडीले आकर्षक र साहसिक प्रदर्शनी गरेका थिए । अक्सिडेन्टल पब्लिक स्कुलका विद्यार्थीले नृत्य प्रस्तुत गरे भने नेपाल ब्रेकिङ एन्ड डान्स स्पोर्ट्स संघले व्यवस्थापन गरेको ‘बी बोयिङ’ मनमोहक थियो ।
ओलम्पियन जुडोकी सोनिया भट्टले उद्घाटन स्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा ओलम्पिक टर्च परिक्रमा गराएका थिइन् । राष्ट्रपति रनिङ सिल्ड खेलकुदको कुनैपनि उद्घाटन कार्यक्रममा ओलम्पिक टर्च परिक्रमा गराइएको पहिलो हो । निर्णायकको तर्फबाट एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङ र खेलाडीको तर्फबाट गण्डकी प्रदेशकी एथलेटिक्स खेलाडी तीर्था ढकालले शपथ ग्रहण गरेका थिए ।
विभिन्न ६ खेल समावेश प्रतियोगितामा प्रदेश १ र मधेश प्रदेश बाहेक ५ प्रदेशको सहभागिता रहेको  छ । भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते र उसुमा ५ सय खेलाडी सहभागी छन् । एथलेटिक्समा २६, करातेमा ८, तेक्वान्दो र उसुमा ६–६, भलिबल र कबड्डीमा २–२ गरी ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । समग्रमा शीर्ष तीन स्थानमा रहने टिम र खेलाडीको व्यक्तिगत गरी कुल पुरस्कार राशी ९ लाख ४५ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ । प्रदेश संरचनामा प्रतियोगिता आयोजना भएको यो तेश्रोपटक हो ।
एथलेटिक्स ः निशा पहिलो
एथलेटिक्सको छात्रा १ सय मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरी पहिलो भइन् । निशाले १२.५३ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । लुम्बिनीकै रेशु थारु दोश्रो तथा बागमती प्रदेशकी कृतिका रन्जितकार तेश्रो भए ।
छात्रा १ हजार ५ सय मिटर दौड ५ मिनेट २१.० सेकेन्डमा पूरा गरेकी गण्डकी प्रदेशकी जानकी खराल पहिलो भइन् । कर्णाली प्रदेशकी हिमाली शाही दोश्रो तथा कर्णालीकै मोतीकला डाँगी तेश्रो बने । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्रा हाइजम्पमा लुम्बिनीकी प्रमिला चौधरी शीर्ष स्थानमा रहिन् । प्रमिलाले १.३० मिटर जम्प  गरिन् । गण्डकीकी सीमा श्रेष्ठ र कर्णालीकी मापसना रसाइली संयुक्त रुपमा दोश्रो भए । दुवैले १.२५ मिटर हामफाले ।

तपाइँको प्रतिक्रिया ।