गोकर्णेश्वर ४ को जोखिमयुक्त रुख काट्न नेपाल ट्रस्ट तयार
कपन अनलाइन
काठमाडौँ, जेठ ७ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ को गोकर्ण जंगल भित्र रहेका जोखिमयुक्त अग्ला रूखहरू काट्नलाई नेपाल ट्रस्ट तयार भएको छ । गोकर्णेश्वर महादेव मन्दिरको पारीपट्टीको जंगल क्षेत्रमा भएका सल्लाका १०० फिटभन्दा अग्ला जोखिमयुक्त रूखहरू हावाहुरीका कारण कुनै पनि बेला ढल्न सक्ने र मानवीय तथा भौतिक क्षति हुन सक्ने भएकाले स्थानीय र वडा कार्यालयको दबाबपछि नेपाल ट्रस्ट रुख काट्न सहमत भएको हो।
नेपाल ट्रस्टको तर्फबाट उपसचिव विष्णु ढकालको नेतृत्वमा ३ सदस्यीय टोली सहित वडा कार्यालय र स्थानीय बीच शनिबार भएको वार्ता अनुसार कम्तीमा १७ वटा त्यस्ता जोखिम युक्त रूख काट्न सहमति भएको वडा नं ४ का सचिव नवराज सेनले जानकारी दिए। गए रातिको हावाहुरीले ३ वटा अग्ला रूख सडक हुँदै वडा कार्यालयको भवनमाथि ढलेपछि स्थानीयको दबाबमा नेपाल ट्रस्टसँग वार्ता भएको हो। वडा सचिव सेनका अनुसार सोमबार कार्यालय खुले संगै लिखित सहमति गर्ने र रूख काट्न सुरु गरिने पनि उनले जानकारी गराए ।