ओखलढुंगा चम्पादेवीमा बाम गठबन्धनको चर्चा र “वीरबलको खिचडी”
कपन अनलाइन
काठमाडौँ, चैत्र २३ ।
केहि समय अगाडी ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाका कम्युनिस्ट नेताहरुले काठमाण्डौको चावहिल सरस्वती नगरमा रमाइलो भेटघाट गरेर सार्वजनिक अरेको तस्विरले निकै चर्चा पाएको थियो।
फागुन ३ गते काठमाण्डौको सरस्वती नगरमा आयोजना गरिएको दुई पार्टीका नेताहरुको छलफल पश्चात आसन्न स्थानीय तहको निर्वाचनमा बामपन्थी दलहरु विच सहकार्य गरेर अगाडी बढ्ने सहमति भएको थियो।
उक्त छलफलमा नेकपा एमालेका शंकर बहादुर कार्की,केदारराज पुडासैनी, कुमार घिमिरे,तिर्थ सुवेदी,सुरेश थापा,,अमृत धमला,लिला बहादुर कटवाल र खेम मिश्र लगायत सहभागी रहेका थिए भने नेकपा माओवादी केन्द्रका रामहरी कार्की,खड्ग बहादुर कार्की,झलकमान तामाङ्ग,लोचन केसी र मुकुन्द कार्की लगायतको उपस्थिति रहेको थियो।
सो छलफल पश्चात निकै नै उत्साहित बनेर चम्पादेवीमा बाम गठबन्धनको चर्चा र प्रेस गरे पनि अहिले सो चर्चा चर्चित कथामा उल्लेख गरिएको वीरबलको खिचडीमा परिणत भएको छ।
राजा अकबरलाई चेताउन बाँसको टुप्पामा भाडो झुन्डाएर फेदको आगोले खिचडी पकाएको सो कथा अहिले चम्पादेवीमा ठ्याक्कै मिलेको एक नेता बताउछन।
सहकार्य नामको खिचडी टुप्पो मा छ फेदमा केहि आगोको धुँवा पनि छ तर त्यो खिचडी पाक्ने सम्भावना कता हो कता ? जस्तो भएको भन्दै ति नेताले बाम गठबन्धनको गफ लाएर जनता तथा कार्यकर्ताहरुलाई झुक्काउनु भन्दा आफ्नो आफ्नो तयारी गर्दा राम्रो हुने धारणा राखेका छन।
चम्पादेवी गाउँपालिकामा निर्णायक कम्युनिस्ट जनमत हुँदाहुँदै पनि गत स्थानीय निर्वाचन गुमाउनु परेकोले आगामी निर्वाचनमा सहकार्य गर्ने पहल निकै फलदायी र सकारात्मक भएको भनेर गरिएको टिप्पणी अहिले गलत सावित हुँदै गएको भन्दै नेकपा एमाले गाउँकमिटीका एक पदाधिकारीले अब पनि बाम गठबन्धनको कुरा गर्नु काशी जानु कुतीको बाटो भन्ने उखान झैँ रहेको भन्दै व्यंग्य समेत गरेका छन।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक्ला एक्लै चुनावमा जाँदा २०७४ साल झैँ नराम्रो संग पराजित हुने बुझेका केहि नेताहरुको पहलमा सूरु गरिएको सो छलफल अहिले लगभग तुहिने अवस्थामा पुगेको छ।
आगामी चुनावमा टिकट पाइन्छ र दुई पार्टी मिल्दा सत्तामा पुगिन्छ भनेर बाम गठबन्धनको पक्षमा दिलोज्यान दिएर लागेका केहि नेताको अवस्था अहिले माघको ठण्डीमा चिसो पानीले नुहाएको जस्तै भएको नेकापा माओवादी केन्द्रका एक नेता बताउछन।
चम्पादेवीमा अहिले पनि केहि नेताहरुले बाम गठबन्धनका वारेमा कहिँ कतै ;लेखाएर उत्कट इच्छा शान्त पार्न खोजेपनि नेकपा माओवादी केन्द्र पाँच दलीय गठबन्धनमा इमान्दारी पुर्वक लाग्ने बताउदै ति नेताले कसैले व्यक्तिगत इच्छा र आकांक्षामा के के गर्छन ? त्यो पार्टीको विषय नहुने धारणा राखेका छन।
चम्पादेवी गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका हरी प्रसाद घिमिरेले २८४१ मत प्राप्त गरेका थिए भने नेकपा माओवादी केन्द्रका उम्मेदवार खड्ग बहादुर कार्कीले १९३९ मत प्राप्त गरेका थिए। सो निर्वाचनमा ३२४१ मत प्राप्त गर्दै नेपाली कांग्रेसका नबराज केसी विजयी भएका थिए।