बुढानिलकण्ठ-१३ को विवादित चुनिखेल भद्रकाली बालुवा प्रसोधन केन्द्र बन्द गर्ने निर्णय
कपन अनलाइन
काठमाडौं, चैत ९।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको विवादित चुनिखेल भद्रकाली बालुवा प्रसोधन केन्द्र बन्द गर्ने निर्णय गरिएको छ। बुढानिलकण्ठ नगरपालिकाको ७८ औ कार्यपालिकाको बैठकले वडा नं १३ मा रहेको सो बालुवा प्रसोधन केन्द्र बन्द गर्ने निर्णय गरेको हो।
नगरपालिकाबाट स्वीकृति नलिई संचालनमा रहेको सो बालुवा प्रसोधन केन्द्रबाट बेचबिखन भएको बालुवाको वारेमा महालेखा नियन्त्रकको कार्यालयले समेत लेखा परिक्षण प्रतिवेदनमा उल्लेख गरेको थियो।
सो बालुवा प्रसोधन केन्द्र कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएपनि बुढानिलकण्ठ नगरपालिकामा भने दर्ताको प्रक्रियामा रहेको छ। सो कम्पनीले २०७६ माघ ५ गते नगरपालिकामा निवेदन दिए पनि वातावरणीय परिक्षण समेत नभएका कारण नगरपालिकाले स्वीकृति दिएको छैन।
स्थानीय सरकारबाट स्वीकृति नलिई संचालन गरिएको सो केन्द्रले बिना अनुमति अन्यत्रबाट बालुवा माटो बोकाई संचलान गरेको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि सो कार्यालय बाट पत्राचार भए संगै नगरपालिकाले वडा कार्यालय र प्रहरी कार्यालयलाई बोधार्थ राखेर कम्पनीलाई पत्र लेखेको थियो।
महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको लेखा परिक्षण प्रतिवेदनमा सो कम्पनीले गैरकानुनी रुपमा कहिले देखि व्यवसाय संचालन गरेको एकिन नभएकोले चालु आवमा संकलन भएको मासिक औसत ७ लाख ७९हजारका दरले वार्षिक हुने रकम ९३ लाख ४८ हजार र जरिवाना अशुल गर्नपर्ने उल्लेख गरिएको छ।
सो कम्पनीले बुढानिलकण्ठ नगरपालिकालाई ३१ लाख १६ हजार बुझाएको छ।