आज महाशिवरात्री :देशभर शिवको पुजाआराधना गरि मनाइँदै
कपन अनलाइन
काठमाडौँ,फाल्गुन १७ ।हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । दर्शनार्थीहरूको पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा विहानैदेखि घुइँचो छ ।शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् ।
यस पर्वका दिन उपवास गरी ” ऊँ नमः शिवाय” मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ ग्रहण गरिन्छ ।
महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनले अनिर्वाय मास्कको प्रयोग गर्नुपर्ने नियम बनाइएको छ। महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने तथा भीड बढ्ने गरेका कारण कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भएकाले मास्क र स्यानिटाइजरलाई अनिवार्य गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यले जानकारी गराएका छन
पशुपति क्षेत्रमा चोरी लुटपाटलगायत घटना रोक्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा पशुपति क्षेत्र विकास कोषका सुरक्षाकर्मी परिचालन गरिएको छ भने मन्दिर दर्शनका लागि तीनवटा दर्शन मार्ग व्यवस्था गरिएको छ। गुह्येश्वरी–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्र गाडेश्वर छेउको उत्तरतिरको ढोकाबाट एउटा लाइन हुनेछ भने मित्रपार्क जयबागेश्वरी, इँटापाखा भएर भुवनेश्वरमा रहेको फलामको ढोका हुँदै पश्चिम ढोकातर्फ तथा बत्तीसपुलती, गौशाला, एअरपोर्ट, तिलगङ्गा चार शिवालय हुँदै अर्को लाइनको व्यवस्था गरिएको विकास कोषले जनाएको छ।यसैगरी गाडीको व्यवस्थापनका लागि पाँच ठाउँ कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलको चौर र गुह्येश्वरी क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ।