शिरशुभा/गम्भिरसिंह स्मृति भलिबल हुने
कपन अनलाइन
काठमाडौं, फागुन १३।
दसौं शिरशुभा÷गम्भिरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिता स्याङजामा हुने भएको छ । स्व. शिरशुभा र गम्भिरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुको आयोजनामा हुन लागेको प्रतियोगिता फागुन २३ देखि हुने जेठा छोरा पूर्व मेजर लिलबहादुर गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा स्याङजाको आँधी खेला गाउँपालिका, पुतलीबजार नगरापालिका र अर्जुन चौपारी गाउँपालिका तथा पर्वतको महाशिला गाउँपालिका र फलोबास नगरपालिकाका १६ टिमको सहभागिता रहने छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
विजेताले १ लाख, उपविजेताले ५० हजार र तेश्रो हुनेले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक खेलको ‘म्यान अफ म्याच’ लाई ट्रफी प्रदान गरिने छ ।
पूर्व मेजर लिलबहादुरले खेलाडी, प्रशिक्षक, अफिसियललगायत गरी १ हजार जनाको बिमा गरिएको जानकारी गराउदै कोभिड– १९ को मापदण्ड पालना गरी प्रतियोगिता आयोजना गरिने बताए ।
पत्रकार सम्मेलनमा माहिला छोरा देवबहादुर र कान्छा छोरा पूर्व डिआईजी हिमबहादुरले प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए । सहभागी १६ टिमलगायतका लागि खेल पोशाक भ्याली पब्लिक स्कुलका प्रिन्सिपल कृष्ण अधिकारीले प्रायोजन गर्ने भएका छन् ।
फागुन २७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्याङजाको सिरुवारीस्थित झाँक्री थानको कुर्लेमा हुने छ । उक्त कोर्ट आयोजकले आफ्नै जग्गामा करिब २० लाख खर्चमा निर्माण गरेको हो ।