फुटबल र खेलकुद अध्ययन मेरो रुचिको विषय हो: सुवास न्यौपाने

फुटबल र खेलकुद अध्ययन मेरो रुचिको विषय हो: सुवास न्यौपाने

कपन अनलाइन

काठमाण्डौ ,माघ २५ ।

नेपालको पूर्वी पहाडी जिल्ला ओखलढुंगामा वि.सं. २०४६ सालमा जन्मिएका सुवास न्यौपानेको रुचिको विषय फुटबल र खेलकुद अध्ययन हो । आफ्नो  बाल्यकालको केही समय  ओखलढुंगामा बिताएका उनी सानो उमेरमै आफ्नो परिवारसँग काठमाडौँ आएका थिए ।उनी सानैदेखि फुटबलप्रेमी थिए । कपन ईङ्गलिस बोर्डिङ्ग स्कुल (हाल रिलायन्स ईन्टरनेशनल एकेडेमी) मा नर्सरीबाट अध्ययन थालेका उनी साथीहरुसँग कक्षा एकमा हुँदा पहिलो पल्ट फुटबल (गोलकिपर भएर) खेलेको सम्झिन्छन् र त्यहीँबाट यस खेलमा रुचि बढेको बताउँछन् ।

उनले बाल्यकालमा स्कुल र छरछिमेकका साथीभाइ र दाइहरुबाट फुटबल खेल्न सिकेका थिए । उनले कक्षा चारदेखि एस.एल.सी सम्म नमुनादीप ईङ्गलिस बोर्डिङ्ग स्कुल (हाल पुष्पलाल मेमोरियल स्कुल) मा अध्ययन गर्दा धेरै फुटबल खेलेको र फुटबल लगायत चेस, टेबल टेनिस, दौड, लङ्ग जम्प, खो खो, कबड्डी आदि खेलहरुमा पनि पुरस्कारहरु जितेका थिए । स्कुल पढ्दा कपनको विभिन्न खेत र खाली चौरमा फुटबल खेलेको र शनिबार साथीहरुसँग करिब एक घण्टाभन्दा पनि बढी हिँडेर भंगालको चौरमा फुटबल खेल्न गएको क्षणहरु सम्झिँदा उनी अहिले पनि निकै रमाइलो लाग्ने बताउँछन् ।

बाल्यकालदेखि नै फुटबल खेलमा रुचि राख्ने उनी कक्षा आठमा पढ्दा विदेशी प्रोजेक्टमा रहेको प्रशिक्षक बद्री भट्टराईद्वारा संचालित प्रशिक्षणमा पनि सहभागी भए । उनले उक्त प्रशिक्षण क्याम्पमा रहँदा गरुडा एकेडेमीबाट जावलाखेल खेलमैदानमा विभिन्न जुनियर फुटबल प्रतियोगिताहरुमा पनि सहभागिता जनाएका थिए । स्कुलमा कक्षा दशमा पढ्दा उनी पाँच बजे कोचिङ्ग कक्षा सकेर कपनको हाइटमा रहेको माउन्ट कैलाशमा फुटबल प्रशिक्षणमा जाने गर्दथे । उनी फुटबलमा सधै  फरवार्ड पोजिसनमा खेल्न रुचाउँथे । फुटबल सिक्ने क्रममा उनलाई सधैँ हौसला, माया र प्रोत्साहन गर्ने व्यक्तित्वहरु: बद्री भट्टराई, ध्रुवराज न्यौपाने, पुण्यराज पुडासैनी, राजु विक्रम थापा, भरत धिताल र अन्य साथीभाइ र परिवारका सदस्यहरुको साथ बिर्सनै नसक्ने बताउँछन् । दाइहरुबाट नै फुटबल खेल्ने, यस खेलमा लाग्ने, विभिन्न खेलाडीहरु र टिमहरु चिन्ने मौका पाएको उनी बताउँछन् ।

उनी सानैदेखि अर्जेन्टिनाका प्रशंसक रहेका थिए । त्यो जमानामा इन्टरनेटको पहुँच नभएकाले खेलाडीहरुको नाम डायरीमा टिपेर याद गर्ने गरेको सम्झना उनी गर्छन् । त्यो बेलाका खेलाडीहरु बाटिस्टुटा, रिक्वेल्मी, रोनाल्डिन्हो, जिदान र माइकल ओवेन उनका मनपर्ने खेलाडीहरु हुन् । स्वर्गीय म्याराडोना उनलाई सबैभन्दा उत्कृष्ट लाग्ने खेलाडी हुन् । स्कुल पढ्दादेखि नै उनको मनपर्ने क्लव बार्सिलोना हो र उनी नेपाली फुटबल क्लव मनाङ्ग मस्र्याङ्गदीका पनि ठुलो प्रशंसक हुन् । आफ्नो नामको पछाडी सधैँ दश नम्बर लेख्ने उनी जर्सि नम्बर १० निकै मन पराउँछन् । स्कुल पढ्दाको समयमा हरि खड्का, बसन्त थापा र सुरेन्द्र तामाङ्ग जस्ता नेपाली खेलाडीहरु र भारतीय खेलाडी वाइचुङ्ग भुटिया उनका आइडल रहेका थिए । सन् २००८ को ओलिम्पिक पछि अर्जेन्टिनी स्टार खेलाडी मेस्सी उनका मनपर्ने खेलाडी रहेका छन् ।

वि.सं. २०६३ सालको एस.एल.सी विशिष्ट श्रेणीमा पास गरेका उनको ब्याचलर्स सम्मको पढाई सामान्य रहेको थियो । उनले कलेजमा पढ्दा पनि फुटबल, चेस, टेबल टेनिस लगायत थुप्रै खेलहरुमा पदकहरु जितेका छन् । कलेज पढ्दा उनले केही फुटबल क्लवहरुमा समेत प्रशिक्षण लिन गएका थिए । सो क्रममा यान्कलमा समस्या र आफ्नो फिटनेश पर्याप्त नहुने लागेर उनले अन त पिच भन्दा पनि अफ द पिच फुटबलमा लाग्नु पर्ने सोचेर खेलकुद र फुटबल सम्बन्धि विभिन्न कोर्षहरुमा सहभागिता जनाएका थिए । नेपाली राष्ट्रिय फुटबल टिमबाट खेल्ने सपना पूरा नहुने भएपछि उनले खेलकुद अध्ययनलाई अगाडी बढाउने र नेपाली खेलकुद र मुख्यत: फुटबलको विकासमा योगदान पुर्‍याउने निर्णय गरे ।

उनले सन् २०११ मा मिडिया स्कुलबाट पत्रकारिता र उद्घोषण तालिम लिएका थिए । वि.सं. २०७० सालमा उनी राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेको खेलकुद विज्ञान प्रतिष्ठान (सान) बाट संचालित विद्यालय खेलकुद शिक्षक कोर्षमा सहभागी भए र लाइसेन्स प्राप्त गरे । केही महिना पछि उनले जेभिएर ईन्टरनेशनल स्कुलमा खेलकुद शिक्षकको रुपमा जिम्मेवारी पाए ।

दुई वर्षपछि उनले ईष्ट पोल स्कुलमा खेलकुद इन्चार्जको रुपमा काम गरे । सन् २०१६ मा फिफाद्वारा संचालित फिफा फ्यान सर्भेमा पनि उनले सहभागिता जनाए । सोही क्रममा वि.सं. २०७३ सालमा उनले राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेको खेलकुद विज्ञान प्रतिष्ठान (सान) बाट संचालित कोचेज सर्टिफिकेशन प्रोग्राम (एन आइ एस फुटबल प्रशिक्षण) मा सहभागिता जनाए र लाइसेन्स प्राप्त गरे र सन् २०१७ मा ए.एफ.सी ‘सी’ कोचिङ्ग कोर्षमा सहभागी भए । नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)द्वारा संचालित युथ एजुकेशन प्रोग्राममा पनि उनले खेलकुद शिक्षकको रुपमा काम गरे र सहभागी खेलाडीहरुलाई खेलकुद मनोविज्ञान, व्यवस्थापन र खेलकुद चिकित्सा सम्बन्धि ज्ञान प्रदान गरे ।

वि.सं. २०७४/७५ सालमा स्थानीय सरकारको सहयोगमा उनले छ महिनासम्म बुढानिलकण्ठ फुटबल प्रशिक्षण क्याम्प पनि संचालन गरे । उनले रेफ्रि भएर स्कुल लेभल, कलेज लेभल, अन्तर क्लव र उमेर समूह गरी सयभन्दा बढी फुटबल र फुटसलका खेलहरु संचालन गरेका छन् । उनले विभिन्न फुटबल खेलहरु तथा युट्युवमा भिडियोहरु हेरेर र फिफा लज अफ दि गेम पिडिएफ प्रिन्ट गरी पढेर रेफ्रिइङ्ग सिकेका थिए । सन् २०१४ मा व्यवस्थापनमा स्नातक पास गरेका उनले लामो समयको पर्खाई पछि सन् २०१८ बाट त्रिभुवन विश्वविद्यालयमा शुरु भएको खेलकुद विज्ञान स्नातकोत्तरमा भर्ना भई आफ्नो खेलकुद अध्ययनलाई निरन्तरता दिए ।

नेपाली फुटबललाई निकै माया गर्ने उनी नेपली फ्यानहरुको समूह मनाङ्ग मस्र्याङ्गदी क्लव फरएभर (एम.एम.सी. फरएभर) का पनि सदस्य रहेका छन् । त्यस्तै उनी नेपालमा रहेको बार्सिलोना फ्यान क्लव बार्सा नेपालका पनि सदस्य रहेका छन् । यी फ्यान क्लवहरुमा रही उनी थुप्रै सामाजिक कार्यहरुमा समेत सहभागी भएका छन् । साथै उनी फिफाको आधिकारिक फ्यान कम्युनिटीका पनि सदस्य रकेका छन् । यस फ्यान कम्यूनिटीबाट उनी संसारमा रहेका फुटबल फ्यानहरुसँग जोडिन र विभिन्न विषयमा छलफल गर्न पाएको बताउँछन् ।

केही समय खोकनाको ज्ञानोदय बाल बाटिकामा खेलकुद प्रमुखको जिम्मेवारी निर्वाह गरेपछि उनी राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेको नेपाल तेक्वान्दो संघमा प्रोग्राम अफिसरको रुपमा आवद्घ भए । सन् २०१८ मा विश्वकपको समयमा उनले विश्वकप सम्बन्धि सम्पूर्ण विवरण सहित ‘माई फुटबल डायरी: वल्र्ड कप स्पेशल’ नामक पुस्तक प्रकाशन गरे ।

सो पुस्तकको प्रकाशन पछि फुटबलमा आबद्घ रहेका धेरै व्यक्तिहरुसँग उनको राम्रो सम्बन्ध स्थापित भएको उनी बताउँछन् । त्यसपछि वि.सं. २०७६ सालमा आफ्नो फुटबलको प्यासनलाई अङ्गाल्दै उनी अखिल नेपाल फुटबल संघमा आबद्घ भए । केही समय एन्फामा स्वयंसेवक काम गरेका उनले छ महिना पछि महिला फुटबल प्रशासकको रुपमा कार्य गरे ।

उनले जेनेरल कोर्डिनेटर वेबिनार, म्याच कमिश्नर सेमिनार र वेबिनार, लिग डेभ्लप्मेन्ट वर्कशप, क्यापासिटी बिल्डिङ्ग कोर्ष जस्ता आधा दर्जनभन्दा बढी कोर्षमा सहभागिता जनाई सकेका छन् । साथै उनले १३औँ सागमा नेपाली राष्ट्रिय महिला फुटबल टिम र साफ यू १९ च्याम्पियनशिपमा नेपाली यू १९ राष्ट्रिय महिला फुटबल टिमको टेक्निकल अफिसियल र उप–मेयर कप २०७६, राष्ट्रिय महिला लिग २०७७, उप–मेयर कप २०७८ र राष्ट्रिय फुटसल लिगमा जेनेरल कोर्डिनेटर र नेपाल सुपर लिग (एन.एस.एल), शहिद स्मारक ‘ए’, ‘बि’ र ‘सि’ डिभिजन लिगमा अफिसियलको भूमिका निर्वाह गरिसकेका छन् ।

सन् २०११ मा विश्वकप २०१४ छनौट अन्तर्गत जोर्डनमा पहिलो खेलमा जोर्डनसँग ९–० ले पराजित भएपछि नेपाल र जोर्डनबिच दशरथ रंगाशालामा भएको दोस्रो खेलमा नेपालले १–१ को बराबरी खेल्दा रंगाशालामा प्रत्यक्ष खेल हेरेका उनी त्यो क्षण उनका लागि अविश्वसनीय र अमर क्षण रहेको बताउँछन् । अहिले आफ्नो काम र कर्तव्यले बाँधिएर अफिसियल भएर खेल हेर्दा र त्यो समय प्यारापिटमा बसेर हल्ला गर्दै नेपालको खेल हेरेकोमा धेरै अन्तर रहेको उनी बताउँछन् । त्यो समय खुल्ला मनले, हल्ला गर्दै, उफ्रदै, गीतहरु गाउँदै हेरेको फुटबलको मज्जा नै बैग्लै र अमर रहेको उनी बताउँछन् ।

 

खेलकुद विज्ञान विषयमा स्नातकोत्तर तह उत्कृष्ट अंक सहित उत्तीर्ण गरेका उनी हाल ए.एफ.सी द्वारा संचालित एक वर्षे फुटबल म्यानेजमेन्ट डिप्लोमा गरिरहेका छन् । उनले भविष्यमा खेलकुद विषयमा विद्यावारिधी (पि.एच.डी) गर्ने सोच बनाएका छन् । खेलकुद विज्ञान विषयमा स्नातकोत्तर तहको शोधपत्र (थेसिस) लेखनमा युवा तथा खेलकुद मन्त्रालयबाट छात्रवृत्ति प्राप्त गर्न सफल उनले मन्त्रालयलाई आफ्नो प्रतिवेदन बुझाई सकेका छन् । त्यस्तै अहिले उनलाई कानून विषयको अध्ययनको रुचि पनि रहेको छ ।

धेरै समयको मिहिनेत पछि उनले एउटा फुटबल सम्बन्धि गेम (बोर्ड फुटबल) तयार पारेको र सो सम्बन्धि आफू सदस्य रहेको फिफा फ्यान कम्युनिटिमा छलफलको लागि पेश गरेको बताउँछन् । जसले पनि, जहाँ पनि र जतिबेला पनि खेल्न सकिने यो गेमको मुख्य उद्देश्य फुटबललाई युनिभर्सल र इन्क्लुसिभ खेल बनाउने रहेको उनी बताउँछन् ।

स्कुलमा कक्षा दशसम्म सँगै पढेको स्वर्गीय साथीको नाममा एउटा स्पोर्ट्स एकेडेमी संचालन गर्ने उनको सपना रहेको छ ।  त्यस्तै सन् २०२२ को विश्वकप अगाडी सन् २०१८ मा प्रकाशित उनको विश्वकप सम्बन्धि पुस्तकको दोस्रो प्रकाशन पनि निकाल्ने सोचमा रहेका छन् । हाल जोरपाटीको एक कलेजमा प्लस टु लाई खेलकुद विज्ञान विषय अध्यापन गराई रहेका उनी त्रि. वि.मा स्नातकोत्तर तहलाई पनि खेलकुद विज्ञान विषय अध्यापन गराउने तयारीमा रहेका छन् ।

फुटबल खेल र विश्वकप फुटबल सम्बन्धि खोज कार्य गर्ने उनको अर्को योजना रहेको छ । नेपाली फुटबल र खेलकुदको क्षेत्रमा साथै विश्व खेलकुदमा नै योगदान पुर्‍याउने उद्देश्यका कारण उनको अबको गन्तव्य ए.एफ.सी र फिफा रहेको बताउँछन् ।

वि.सं. २०६९ सालमा विवाह बन्धनमा बाँधिएका उनी आफ्ना छोरालाई पनि फुटबल खेलाडी तथा रेफ्रि बनाउन चाहन्छन् । अहिले नौ वर्ष भएका उनका छोराको पनि फुटबलमा निकै रुचि रहेको उनी बताउँछन् ।

उनी खाली समयमा खेलकुदका पुस्तकहरु पढ्न, खेलकुद सम्बन्धि डकुमेन्ट्री र फिल्महरु हेर्न, फुटबल र फुटसल खेल्न, पुराना नेपाली व्याण्डहरुका गीत सुन्न, कविता र गीत रचना गर्न, हाइकिङ्ग र राइडिङ्ग गर्न रुचाउँछन् । नेपाली ब्यान्ड नेपथ्य, गायक अमृत गुरुङ्ग र नबिन के भट्टराईका उनी ठुला प्रशंसक हुन् ।

एन्फामा प्रतियोगिता म्यानेजरको रुपमा महिला फुटबल विभाग र प्रतियोगिता विभाग सम्हाल्दै आएका उनी नेपाली फुटबल र खेलकुदको क्षेत्रमा निकै सम्भावना रहेको बताउँछन् । खेल राजनीति र खेलकुदमा राजनीति भिन्न विषय रहेको उनको बुझाई छ । नेपालमा खेलकुदको विकासका लागि उनको एउटा मूल मन्त्र रहेको छ, ‘खेलकुद अनि खेलकर्मीको हित’ ।

 

जबसम्म नेपालमा खेलकुद र खेलकर्मीलाई प्राथमिकतामा राखेर उनीहरुको हक र हितको कार्य गरिदैन तबसम्म खेलकुदको दिगो विकासको सम्भावना नरहेको उनको भनाई छ । नेपालमा अहिले खेलकुद विज्ञान, खेल व्यवस्थापन, खेल इथिक्स एण्ड इन्टिग्रिटी, खेल मनोविज्ञान, खेल चिकित्सा र अन्य खेलकुद सम्बन्धि विषयहरुमा अध्ययन गरी ज्ञान हासिल गरेका धेरै सम्भावना बोकेका युवाहरु रहेको उनी बताउँछन् ।

“नेपाली खेलकुदमा लाग्न, योगदान दिन, खेलाडी नै हुनुपर्छ भन्ने छैन, सबैले कहाँ राष्ट्रको निम्ति खेल्ने सौभाग्य पाउँछन् र! खेलकुदमा विभिन्न अवसरहरु छन् । आफ्नो प्यासन र क्षमता समयमै पहिचान गर्न सकियो भने एकदिन अवश्य सफल भइन्छ”,  न्यौपानै भन्छन् । उनको प्रोफाइलमा ‘दिमाग खेलकुदको लागि, हृदय फुटबलको लागि’ भन्ने भनाई हामी देख्नसक्छौँ । सधैँ फुटबलको बारेमा सोचिरहने उनलाई, साथीहरु र दाइहरु फुटबल पागल भनेर चिन्छन् र उनी भन्छन्, “देशको निम्ति नखेले पनि, मर्नेछु म त फुटबल नै भनी” ।

 

तपाइँको प्रतिक्रिया ।