चन्द्रागिरि  नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन  उद्घाटन

चन्द्रागिरि  नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन  उद्घाटन

कपन अनलाइन

काठमाडौँ, माघ २५ ।  चन्द्रागिरि  नगरपालिकाको नव निर्मित प्रशासकीय भवनको  उद्घाटन गरिएको छ चन्द्रागिरि–१२ गुर्जुधारामा रहेको सात रोपनी जमिन मध्ये तीन रोपनीमा प्रशासकीय भवन बनेको छ भने चार रोपनीमा बाहिरी बगैँचा लगायतको संरचना निर्माणाधीन छन।सोमबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख  शिवसुन्दर राजबैद्य र नगर प्रमुख घनश्याम गिरीले  संयुक्त रुपमा ताम्रपत्र अनावरण गर्नुको साथै रिवन काटी भवनको  उद्घाटन  गरेका हुन |  उनीहरुले नै विसं २०७६ मङसिर ११ गते संयुक्त रुपमा सो भवनको शिलान्यास गरेका थिए ।

नगर प्रमुख घनश्याम गिरिको अध्यक्षतामा भएको उक्त उद्घाटन समाहरोहका प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख  शिवसुन्दर राजबैद्य रहेका थिए भने बिशेष अतिथिको जिल्ला समन्वय समिति काठमाडौंका उप प्रमुख श्री सरिता दहाल, चन्द्रागिरी नगरपालिकाका उप प्रमुख  लिशा नकर्मी,  जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी ,चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल ,  चन्द्रागिरि नगरपालिका वडा नं १ देखि १५ नं वडासम्मका अध्यक्षहरु , नगर कार्यपालिका सदस्यहरु , बिभिन्न  राजनीतिक दलका प्रतिनिधिहरु सहित स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । उपत्यकाको मौलिक, सांस्कृतिक एवम् कलात्मक आँखि झ्याल शैलीमा नवनिर्मित छ तलाको सोही भवनबाट अब नगरको दैनिक कार्यसम्पादन तथा सेवा प्रवाह हुने छ । भवनबाट पशु सेवा कार्यालय बाहेक अन्य सेवा नगरवासीले एकीकृत रुपमा पाउने छन् । यस अघि नै पशु सेवा कार्यालयको भवन रु. १ करोड ५७ लाख लागतमा सम्पन्न भइसकेको जनाइएको छ ।

चन्द्रागिरि– १२ गुर्जुधारामा रहेको सात रोपनी जमिन मध्ये तीन रोपनीमा प्रशासकीय भवन बनेको छ भने चार रोपनीमा बाहिरी बगैँचा लगायतको संरचना निर्माणाधीन छन् । काठमाडौं जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङका तत्कालीन गाउँविकास समिति मिलाएर ‘चन्द्रागिरि नगरपालिका’ बनाइएको थियो । बाल, जेष्ठ नागरिक र अपाङगता मैत्री नवनिर्मित भवन अधिकांश नगरवासीलाई पायक पर्ने स्थानमा बनेको नगरवासीको ठम्याइ छ ।भूकम्पप्रतिरोधि र अग्नी नियन्त्रक उपकरण जटित सो भवनमा करिव २०० क्षमताको सभाहल सहित नगर प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतका कार्यकक्षमा छुट्टै ‘मिनि मिटिङ हल’ तथा ‘अण्डरग्राउण्ड पार्किङ ’ रहेको  छ । दुई स्थानीय तहका संयुक्त साझेदारीमा २५ करोड रुपैयाँ लागतमा भवनसहित बाहिरी आकर्षक बगैंचा सम्पन्न हुन लागेको हो।

सो रकममध्ये समन्वय समितिको १० करोड रुपैयाँ र बाँकी नगरपालिकाको आन्तरिक स्रोत रहेको जनाइएको छ।रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएको सो भवन  सम्झौता अनुसार वि.सं २०७८ वैशाखभित्रमा नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो तर कोभिड-१९ को महामारीका कारण ढिलाइ भएको भएको जनाइएको छ।  नगरपालिकाका १५ वडामध्ये अधिकांशले आफ्नै भवनबाट सेवा प्रवाह गर्न सफल भएका छन्। पछिल्लो समय वडा नं ३ र ४ वडाको नयाँ कार्यालय भवन हाल मात्र निर्माण सम्पन्न भएको र वडा नं ७, ११ र ५ को जग्गा खरिद गरी भवन निर्माणका लागि आवश्यक काम अगाडि बढेको नगरपालिकाका कार्यकारी अधिकृत निरज पौडेलले जानकारी दिए।

कार्यक्रममा बोल्दै नगर प्रमुख घन श्याम गिरिले नवनिर्मित नगरपालिकाको आफ्नै भवनबाट एकीकृत सेवा प्रवाह र विकास निर्माणको कामलाई अझ चुस्त, सरल, सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका थिए । नगरको भौतिक पूर्वाधार विकाससँगै नगरपालिका भवन तथा वडा कार्यालयका आफ्नै भवन बनाउने आफ्नो  प्राथमिकतामा  रहेको जानकारी दिदै सो   कार्यमा सफलता मिलेको बताए।

 कार्यक्रममा शुभकामना मन्तब्य राख्दै जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख राजवैद्यले महामारीका बीचमा भवन निर्माण सम्पन्न भएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा समन्वय समिति र नगरपालिकाका बीचमा सहकार्य जारी रहने जानकारी दिएका थिए । कार्यक्रममा नगरपालिकामा कार्यरत कम्प्युटर अधिकृत (सातौँ तह) का सीताकुमारी कार्की र थानकोट अस्पतालका मेडिकल अधिकृत डा. हेमनाथ शर्मालाई जनही रु. ५० हजार नगद सहित सम्मान गरिएको थियो ।

सोही अवसरमा १३ औँ साग खेलकूद प्रतियोगितामा चन्द्रागिरी नगरनिवासी पदक विजेता खेलाडीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा कराँतेमा स्वर्णपदक विजेता प्रवीण मानन्धर, बक्सिङमा रजत पदक विजेता ललिता महर्जन, भलिबलमा रजत पदक विजेता प्रतिभा माली, सलिना श्रेष्ठ, रेश्मा भण्डारी तथा प्रशिक्षकद्वय करातँका वीरकृष्ण शाही र बक्सिङका दीपक महर्जन हुन् । कार्यक्रममा नगर उपप्रमुख लिशा नकर्मीले नगरका विकासका गतिविधिबारे चर्चा गरेकी थिइन् ।

तपाइँको प्रतिक्रिया ।