गोकर्णेश्वर ९ मा फलफूलको बिरुवा बितरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं माघ २१। गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा फलफूलको बिरुवा बितरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको आर्थिक सहयोग तथा लगनशिल महिला उपभोक्ता समितिको आयोजनामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा नगर उप प्रमुख शान्ती नेपाल , नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल वडा सदस्यहरु लगायत आयोजक संस्थाका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष राजिव थापाले गरेका थिए भने कार्यक्रम संचालन वडा सचिव संगीता बरालले गरेकी थिइन । कार्यक्रममा लगनशिल महिला उपभोक्ता समितिकी सुनिता खड्काले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेकी थिइन।
कार्यक्रममा करिब ४० जना जातिलाई बिभिन्न प्रजातिका फलफूलका बिरुवा तथा पानी हाल्ने जार वितरण वितरण गरिएको आयोजकले जानकारी गराएका छन ।कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले आममानिसको स्वास्थ्यका लागि हरियाली वातावरण अपरिहार्य रहेको बताएका थिए। कार्यक्रमले हरियाली प्रवद्र्धन भई स्वच्छ वातावरण कायम हुने बिश्वास ब्यक्त गर्दै नगरपालिकाले सबै वडामा सोहि किसिमको कार्यक्रम गर्दै आएको जानकारी गराएका थिए।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नगर उप प्रमुख शान्ती नेपालले फलफूलका बिरुवा रोपणले एकातिर हरियाली प्रवद्र्धन हुने र अर्कोतिरपछि फलफूलको उपलब्धता पनि हुने बताउदै प्राप्त बिरुवा संरक्षणमा जोड दिएकी थिइन। कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै नगर प्रमुख सन्तोष चालिसेले बिभिन्न बिषयमा नगरपालिकाले तालिम अभिमुखीकरण कार्यक्रम गर्दै आएको जानकारी गराएका थिए ।नगरपालिकाले नगर सरसफाइ र हरियाली प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताउदै पर्यावरण संरक्षण अहिलेको अपरिहार्य आवश्यकता भएको बताए। बजारमा पाइने फलफूलमा बढि मात्रामा बिषादीको प्रयोग हुने र जसले गर्दा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष रुपमा असर पर्ने हुदाँ आफ्नै घरमा फलफुल उत्पादन गरेर खानुपर्नेमा जोड दिएका थिए ।
अध्यक्षताको आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले उपस्थित सबैलाई धन्यबाद दिएका थिए। वडाले बिभिन्न समयमा कौशी खेति तालिम प्रदान गरेको स्मरण गर्दै सोहि कार्यक्रम अन्तरगत बिरुवा बितरण कार्यक्रम पनि जोडिएको जानकारी गराए। उनले एक घर एक फलफूलका बोटबिरुवा रोप्न सकेको खण्डमा सो बिरुवा बाट उत्पादन हुने फलफुल आफैंलाई खान पनि हुने र त्यसले हरियाली पनि प्रवर्द्धन हुने जानकारी गराए । बस्ती आसपासका क्षेत्रमा हरियाली बनाउने अभियानसँग आयआर्जनमा सहयोग पुग्ने उद्देश्यका साथ वडा केन्द्रित बनेको भन्दै वडाले कृषि मात्र नभई महिलाहरुको क्षमता अभिवृद्धिका लागि बिभिन्न शिपमुलक तालिम लगायतका बिभिन्न कार्यक्रम पनि गर्दै आएको जानकारी दिदै प्राप्त बिरुवा संरक्षणमा समेत जोड दिएका थिए।