धोबिखोला करिडोरको “फुटपाथ” मा शहरी विकासमन्त्री रामकुमारी झाँक्री

धोबिखोला करिडोरको “फुटपाथ” मा शहरी विकासमन्त्री रामकुमारी झाँक्री

कपन अनलाइन

काठमाण्डौ ,माघ १९।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको सक्रियतामा फुटपाथमा राखिएका निर्माण सामग्रीहरु हटाउन थालिएको छ। बुधबार धोबिखोला करिडोर सडकमा राखिएको सामग्रीहरु हटाइएको हो।

सडक छेकिनेगरी राखेको सामग्रीहरु हटाइएको मन्त्री झाँक्रीले बताइन्। झाँक्रीका अनुसार पैदलयात्रुलाई असहज हुने गरी जथाभावी सडकमा राखिएका रड, गिटी, ढुंगा, इँटालगायत निर्माण समाग्रीहरू हटाएको हो।

अत्यधिक चाप हुने उक्त फुटपाथमा लामो समयदेखि स्थानीवासीहरुले निर्माण सामग्री थुपार्दै आइरहेका थिए। सर्वसाधारणको गुनासो आउन थालेपछि उक्त सामाग्री हटाउन ताकेता गरे पनि नमानेपछि मन्त्री झाँक्री आफैंले उक्त सामाग्री हटाउन लागिपरेकी हुन्।

मन्त्री झाँक्रीको सक्रियतामा महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशी, महानगर प्रहरी र जनपथ प्रहरीले ट्रकमा लोड गरेर निर्माण सामग्री लगेको छ।

यसरी सडक पेटी ढाकेर पैदल यात्रुलाई अवरोध हुने गरि फुटपाथमा राखिएका निर्माण सामाग्री हटाउन सम्बन्धित व्यक्तिलाई जानकारी गराइसकेको एसएसपी जोशीले बताए।

फुटपाथ र सडकमा सामान थुपार्दा बाटो अवरोध हुने मात्र नभई सहर नै असभ्य देखिने ट्राफिक महाशाखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनीलजंग शाहले बताए। शाह पनि मन्त्री झाँक्रीको अभियानमा सहभागि भएका छन्।

तपाइँको प्रतिक्रिया ।