गणेशमान स्मृति पार्क बनाउन काठमाडौँ महानगरले नागार्जुनलाई थप १ करोड उपलब्ध गराउने

गणेशमान स्मृति पार्क बनाउन काठमाडौँ महानगरले नागार्जुनलाई थप १ करोड उपलब्ध गराउने

कपन अनलाइन

काठमाण्डौ ,माघ ८।

काठमाडौँ महानगरपालिकाले नागार्जुन नगरपालिकालाई थप १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर नगर साझेदारी कार्यक्रमअन्तर्गत नागार्जुन नगरको वडा नं. ६ डाँडा पौवामा गणेशमान स्मृति पार्क बनाउन यस अघि नै १ करोड रुपैयाँ प्रदान गरिसकेको छ । त्यसको प्रगतिका आधारमा थप १ करोड रुपैयाँ उपलब्ध गराउन हिजो काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्य र नागार्जुन नगरका मेयर मोहनबहादुर बस्नेतविच सम्झौता पत्रमा हस्ताक्षर भयो ।

एकीकृत विकास कार्यक्रम सञ्चालन गरी उपत्यकालाई सिङ्गो समृद्ध सहरका रुपमा विकास गर्न काठमाडौँ महानगरले काठमाडौँका सबै नगरलाई पार्क निर्माण तथा हरियाली प्रबर्धन कार्यक्रममा सहयोग गर्दै आएको छ ।

सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै मेयर शाक्यले, काठमाडौँमा जन्मिएर समग्र देशबासीको हितमा जीवन विताउनुहुने गणेशमान सिंहको स्मृतिमा काम गर्न पाएकोमा आफूलाई खुशी लागेको बताए  । ‘उपत्यकाको एकीकृत बिकासका लागि नगरपालिकाबिच एउटै मत छ । हुन त महानगरभित्र पनि गर्नु पर्ने काम धेरै छन् । ती काम गरिरहेका पनि छौं । तर, छिमेकी नगर समृद्ध नभइ महानगर एक्लै समृद्ध हुन सक्दैन । त्यसैले हामी नगर—नगर साझेदारिताबाट अघि बढेको हौँ ।’

नागार्जुन नगरका मेयर बस्नेतले आन्तरिक पर्यटन प्रवर्धनका लागि पार्क महत्वपूर्ण गन्तव्य हुने बताए  । उनकाअनुसार गणेशमान सिंहका अहिलेसम्म भएका प्रतिमाहरुमध्ये यहाँ सबैभन्दा ठूलो बनाइनेछ ।

स्थानीय सरकार गठन भएपछि काठमाडौँ महानगरले गरेका महत्वपूर्ण काममध्ये नगर नगर साझेदारी कार्यक्रम एउटा हो । महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले यो कार्यक्रमले सीधा जनतासँग सम्बन्ध राख्ने बताएका थिए  ।

महानगरले उपलब्ध गराएको रकम प्रचलित खरिद ऐनको प्राबधानबमोजिम खर्च गर्नु पर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै नगरले जुन योजना पेश गरेर रकम प्राप्त गरेको हो, त्यसै योजनामा रकम खर्च गर्नु पर्नेछ ।

महानगरको सहयोगमा काठमाडौँका १० वटा नगरमध्ये ८ वटाले पार्क तथा हरियाली प्रवर्धनका लागि र २ वटाले धाम निर्माणका लागि काम गरिरहेका छन् ।

तपाइँको प्रतिक्रिया ।