हेलो सरकारमा गत फागुनमा तीन सय बाउन्न उजुरी

हेलो सरकारमा गत फागुनमा तीन सय बाउन्न उजुरी

काठमाडौँ, २२ चैत । जनताका गुनासा सुन्नका लागि स्थापित हेलो सरकारमा गत फागुन महिनामा ३५२ वटा उजुरी प्राप्त भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्राप्त उजुरीमध्ये २१६ वटा उजुरीको सुनुवाइ भएको छ । फागुन महिनामा प्राप्त भएका उच्च प्राथमिकतामा ५९ वटा उजुरी रहेका छन् ।

hello-sarkar-300x225
यस्तै ११९ वटा प्राथमिकता र १४३ वटा उजुरी सामान्य रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिनुभयो ।
फागुन महिनामा विशेष गरी ऊर्जा, कृषि विकास, भौतिक पूर्वाधार तथा यातायात, रक्षा, महिला बालबालिका तथा समाजकल्याण, शिक्षा, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या, सिँचाइ, सामान्य प्रशासन मन्त्रालय र उच्चमाध्यमिक शिक्षा परिषद्सँग जोडिएका बढी उजुरी प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

छ निकायले उजुरीको सुनुवाइ गरेनन्
गत फागुन महिनामा सहकारी तथा गरिबी निवारण, श्रम तथा रोजगार, सहरी विकास, वन तथा भूसंरक्षण, उद्योग मन्त्रालय र त्रिभुवन विश्वविद्यालयले कुनै पनि गुनासोको सुनुवाइ नगरेको सचिव सुवेदीले जानकारी दिनुभयो ।
यस्तै सङ्घीय मामिला तथा स्थानीय विकास, युवा तथा खेलकुद, सूचना तथा सञ्चार मन्त्रालयको पनि गुनासो सुनुवाइ क्रम घटेको उहाँले जानकारी दिनुभयो । गत फागुन महिनामा सार्वजनिक सेवा समयमा नपाएको, कर्मचारीले जिम्मेवारीपूर्वक काम नगरेको, पटक–पटक दोहोरिने गुनासा समाधानका लागि कुनै पनि चासो नदेखाएको पाइएको छ ।
न्यून मात्रामा गुनासो सुनुवाइ गर्ने निकायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सचेत गराएको सचिव सुवेदीको भनाइ छ । हेलो सरकार स्थापना भएपछि हालसम्म ३५ हजार १६३ गुनासो दर्ता भएकामा ३३ हजार ७८६ गुनासोको सुनुवाइ गरिएको छ । हालसम्म उजुरी सुनुवाइको दर ९६ प्रतिशत रहेको हेलो सरकारले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।