स्कूले बालकहरू क्रिकेट तालिममा भ्याई-नभ्याई
कपन अनलाइन\चैत्र १४, २०७१
बालुवाटारको गल्लीभित्र हत्तपत्ति मानिस नपुग्ने ठाउँमा छ, बालुवाटार क्रिकेट तालिम केन्द्र । जो कोही मानिसले यस्तो ठाउँमा क्रिकेट तालिम केन्द्र हुन्छ पत्याउनै सक्दैन । करिब १ रोपनी जग्गामा फैलिएको यो तालिम केन्द्रमा यतिखेर तालिम लिन आउने सिकारूहरूको भीड देख्दा नेपालमा क्रिकेटले ठूलै फट्को मार्न सक्छ भनेर अनुमान लगाउन सकिन्छ । भर्खर सिक्न खोज्ने स्कुले नानी तथा हिजो एसएलसि सकेर यो बिदालाई सदुपयोग गर्न आएकाहरुको भिडले गर्दा तालिम केन्द्रमा खुट्टो राख्ने ठाउँ छैन ।
मासिक ८०० रुपैयामा शनिवार २ घण्टा सिकाइने क्रिकेटको सुरूवाती कुरा थाहा दिलाउन आउने हरेक अभिभावकको आँखामा भविष्यमा आफ्नो छोरो नेसनल टिमको खेलाडी हुन सक्ने भाव झल्किरहेको देखिन्थ्यो । नेपाली क्रिकेटको तालिमको लागि निजी क्षेत्रले राजधानी लगायत देशभरी यस्ता तालिम केन्द्र खोले भने त्यो राम्रो व्यापारिक काम हुने कुरामा दुइमत छैन । बालुवाटार क्रिकेट तालिम केन्द्रलाई बालुवाटार क्रिकेट क्लबले संचालन गरिरहेको छ।