बागमती प्रदेशस्तरीय जुनियर तेक्वान्दो आइतबारदेखि हुने

बागमती प्रदेशस्तरीय जुनियर तेक्वान्दो आइतबारदेखि हुने

कपन अनलाइन

काठमाण्डौ ,पुस १।

जैशीदेवल युथ क्लबको आयोजनामा बागमतीस्तरीय दोश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ग्योरोगी र पुम्सेमा गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष राजेश प्रजापतिले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ग्योरोगीको पुरुष÷महिलामा समान ८–८ गरी १६ स्पर्धामा भिडन्त हुने छ । पुम्सेतर्फ पुरुष/महिलामा ४ स्पर्धामा खेल हुने छ ।
प्रतियोगितामा आयोजकको २ सहित २० टिमका ४ सय खेलाडीको सहभागिता रहने क्लबका सदस्य समेत रहेका प्रचार प्रसार समितिका संयोजक राजेन्द्र मानन्धरले जानकारी गराए । मुख्य प्रायोजक काठमाडौं महानगरपालिकाले प्रतियोगितका लागि ४ लाख बजेट उपलब्ध गराउने भएको छ । नगद पुरस्कार बाहेक प्रतियोगिताको अनुमानित बजेट १२ लाख रुपैयाँ रहेको छ ।
पुरुष÷महिला उत्कृष्ट फाइटरले १ सय ५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट पुरुष÷महिला पुम्से खेलाडी, उत्कृष्ट पुरुष÷महिला निर्णायक र उत्कृष्ट प्रशिक्षकलाई जनही १ सय अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिने छ । यो विधाको पुरस्कार अमेरिकामा बस्दै आएका सुधोधनमान रन्जित र रिता श्रेष्ठ रन्जितले प्रायोजन गर्ने भएका छन् । त्यस्तै हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः २ हजार, १ हजार ५ सय र समान १÷१ हजार नगद पुरस्कार दिइने छ । सो पुरस्कारको राशी अमेरिकामै बस्ने नवीन शाक्य र प्रनिता श्रेष्ठ शाक्यले उपलब्ध गराउने छन् । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने छ ।

तपाइँको प्रतिक्रिया ।