नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुँदै

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुँदै

कपन अनलाइन

काठमाडौँ, मंगसिर २३।  नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि काठमाडौंको भृकुटिमण्डपमा सुरु हुँदैछ ।महाधिवेशनस्थल पार्टीका झन्डा र चुनाव चिह्न रूखअंकित झण्डाले सिँगारिएको छ । वरपर विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ । ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔँ १४औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन हुँदैछ । दिउँसो १ बजेदेखि सुरु हुने महाधिवेशनको उद्घाटन सत्रका लागि मन्च लगायतको व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

 कांग्रेसले करिव १ सय ५० जना अट्ने मुख्य मन्च निर्माण गरेको छ । बृहत जनसभा नगर्ने निर्णय गरेको कांग्रेसले महाधिवेशान प्रतिनिधि र शुभेच्छुकका लागि कुर्चीको व्यवस्था गरेको छ । अहिले कामदारहरु त्यसैले व्यवस्थापनमा तल्लीन छन् ।महाधिवेशनको सम्पूर्ण तयारी सकिएकाले उद्घाटन समारोहलाई चुस्त र व्यवस्थित रूपमा सम्पन्न गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराएका छन  ।

उद्घाटनमा देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने प्रवक्ता शर्माले जानकारी दिए ।महाधिवेशनबाट ४ हजार ७ सय प्रतिनिधिले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछन् । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले चयन गर्ने व्यवस्था छ ।शनिबार उम्मेदवारी टुङ्गिएपछि आइतबार मतदान र मतगणनाको कार्यक्रम छ । उद्घाटनपछि भृकुटीमण्डप, महेन्द्र पुलिस क्लब र राष्ट्रिय सभागृहमा मतदान हुनेछ ।

तपाइँको प्रतिक्रिया ।