नेपाल खेलकुद महासंघको खेल नीति सम्मेलन आईतबारबाट सुरु

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ६ ।

नेपाल खेलकुद महासंघको आयोजनामा आईतबारबाट दुई दिने खेल नीति सम्मेलन आईतबारबाट  सुरु भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो सम्मेलनको उद्घाटन गरेका थिए।

सम्मेलनको पहिलो दिन ओलम्पियन संघका अध्यक्ष दिपक विष्ट, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, गैर आवासीय नेपाली संघ खेलकुद समितिका सदस्य सचिव धर्म गिरीले  कार्यपत्र प्रस्तुत गरेका थिए  ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले “राजनीतिक पार्टी र खेलकुद संगठनहरु”, पिएचडी स्कोलर ओमकृष्ण प्रसाईंले “नेपालमा खेलकुद विश्वविद्यालय : आवश्यकता र औचित्यता” तथा महासंघका अध्यक्ष रमेशकुमार पौडेलले “नेकोसको सांगठनिक योजना, लक्ष्य तथा कार्यक्रम” का सन्दर्भमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए  ।

सम्मेलनमा राष्ट्रिय, अन्तराष्ट्रिय खेलाडी, विभिन्न खेलका विज्ञ, विश्वविद्यालयका खेल प्रतिनिधि, राष्ट्रिय खेल संघका प्रतिनिधि, ओलम्पिक कमिटिका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद तथा प्रदेश खेलकुद परिषदका प्रतिनिधि, जिल्ला तथा पालिका खेलकुद विकास समितिका प्रतिनिधि, खेलकुद पत्रकार, पूर्व खेलकुद मन्त्री तथा राखेपका पूर्व सदस्य सचिव एवं नेपाल खेलकुद महासंघका सदस्यहरुको सहभागिता रहेको थियो ।

महासंघका अध्यक्ष रमेशकुमार पौडेलले अध्यक्षता भएको कार्यक्रममा  संयोजक एवं महासंघका प्रथम उपाध्यक्ष गोविन्द भट्टराईले कार्यक्रमको उद्देश्य प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए भने औपचारिक समारोहको सञ्चालन महासचिव मेघराज पौडेलले गरेका थिए।

बानेश्वर थापागाउँको काठमाण्डौ ब्यन्केटमा भएको सो सम्मेलन मंगसिर ६ गते सोमवार सम्म हुनेछ ।

तपाइँको प्रतिक्रिया ।