लायन्स क्लब अफ काठमाडौं डाँफेले सामुदायीक बिद्यालयको शैक्षिक उत्थानको लागि सामूहिक देउसी भैलो खेल्ने
कपन अनलाइन
काठमाडौं कात्तिक १२ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं डाँफेले शुभकामना सहित सामुहिक देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । २०७८ साल कार्तिक १९ गते शुक्रबार गोबर्धन पूजाको दिन अपरान्ह २ बजे देखि जोरपाटी नारायणटार स्थित ट्राफिक कार्यालय संगै नेपाली संस्कार र संस्कृति बचाउनको लागि बिगतमा जस्तै “सामुदायीक बिद्यालयको शैक्षिक उत्थानको लागि” आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले परम्परागत रुपमा खेलिदै आएको देउसी भैलो खेल्न लागिएको क्लबका प्रेसिडेन्ट बच्चुराम शर्मा कुइकेलले कपन अनलाइनलाइ जानकारी गराए ।
नेपालीहरुको चाडपर्वलाई सामाजिक सदभाव र भाइचारा बढाउने अवसरको रुपमा देउसी भैलो खेलेर एक आपसमा शुभकामना आदानप्रदानका साथै सामाजिक सदभाव कायम गर्न टेवा पुग्नुको साथै देउसी भैलो बाट संकलित रकम बिगतमा जस्तै सामुदायीक बिद्यालयको शैक्षिक उत्थानको लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्य सहित आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी हुन पनि उनले अनुरोध गरेका छन।
बिगतमा लायन्स क्लब अफ काठमाण्डौं डाँफेले २०७१ सालमा देउसी भैलो बाट संकलित रकम सिन्धुली जिल्ला झाँगाझोली रातमाटा ५ कालिमाटी स्थित श्री विनायक नि माबी र मकवानपुर जिल्ला नामटार गाबिस १ बर्देउ स्थित श्री प्राथमिक बिध्यालयलाइ शैक्षिक सामाग्री प्रदान गरेको थियो भने २०७४ सालमा सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउपलिका १२ भीमटार स्थित श्री ढोटार प्राबी त्यसै गरि २०७५ सालमा मकवानपुर जिल्ला भिमफेदी गाउपालिका वडा नं ९ महाभिर स्थित श्री भावना आधारभूत बिध्यालय,
२०७६ सालमा काभ्रेपलान्चोक जिल्ला पांचखाल नगरपालिका २ दुवारेडीही स्थित श्री भक्रम देवी माबीलाइ ,२०७७ सालमा भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका ६ नगरकोट स्थित श्री गडगेडे आधारभूत बिद्यालयको शैक्षिक उत्थानको लागि शैक्षिक सामग्रीको साथै जाडोको लागि न्यानो कपडा वितरण गरिसकेको हुँदा यस पटकपनि देउसी भैलो बाट संकलित रकम शैक्षिक उत्थानमा खर्च गरिने हुँदा उक्त कार्यक्रममा सहभागिता जनाई सहयोग गर्न समेत अनुरोध गरेका छन ।