दोलखामा ‘हाइ अल्टिच्युड’ राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने

दोलखामा ‘हाइ अल्टिच्युड’ राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १ ।

दोलखाको चरिकोटमा पहिलो संस्करणको ‘हाइ अल्टिच्युड’ राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना हुने भएको छ । प्रदेश खेलकुद बिकास परिषद् बागमती र नेपाल रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा राष्ट्रिय रेस्लिङ प्रतियोगिता कात्तिक १३ गते आयोजना हुने भएको हो ।
आईतबार दोलखा सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलनको आयोजना गरेर जिल्लाको प्राकृतिक र पर्यटकीय दृष्टिकोणले प्रसिद्ध तथा रमणीय स्थल चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराईएको छ ।
प्रदेश खेलकुद परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले विश्वमा कतैपनि उच्च पर्वतीय क्षेत्रमा रेस्लिङ नभएको अवस्थामा प्रदेश सरकारले दोलखामा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएका छन  ।
उहाँले दोलखामा हुने ‘हाइ अल्टिच्युड’ राष्ट्रिय रेस्लिङको आयोजनाबाट यस क्षेत्रमा पर्यटकीय गतिविधि बढ्ने अपेक्षा व्यक्त गर्नुभयो । राष्ट्रिय रेस्लिङ प्रतियोगिताको आयोजना गरेर अर्को वर्ष अन्तराष्ट्रिय स्तरको ‘हाइ अल्टिच्युड’ रेस्लिङ प्रतियोगिता आयोजना गर्ने लक्ष्य प्रदेश सरकारको रहेको सदस्य सचिव भण्डारीले बताए  ।
कार्यक्रममा नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले कोभिडको महामारीले थलिएको पर्यटन प्रबद्र्धनलाई यस प्रतियोगिताले सहयोग पुर्याउने विश्वास व्यक्त गरे  । उनले प्रतियोगिताको सफलता र स्थानीयको सहयोगले रिङ रेस्लिङलाई आगामी वर्ष थप परिस्कृत गर्दै अन्तराष्ट्रियकरण गर्न सहयोग पुग्ने धारणा राखेका थिए  ।
नेपाल ओलम्पिक कमिटीका सदस्य रमेश सिवाकोटीले दोलखाको पर्यटन र खेलकुद विकासमा ओलम्पिक कमिटीको समेत सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले जिल्ला खेलकुद विकास समितिको सहयोग रहेको खण्डमा अर्को वर्ष आर्चरीको राष्ट्रिय प्रतियोगितालाई दोलखामा ल्याउने उल्लेख गर्नुभयो । कार्यक्रममा माउन्टेन स्पोर्टस फेडेरेसका अध्यक्ष गोबिन्द भट्टराईको समेत उपस्थिती रहेको थियो ।
राष्ट्रिय रिङ रेस्लिङमा नुवाकोटे टाईगर, थागु, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु, सिजे, एससी, जोन लगायत महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने बताईएको छ । प्रतियोगितामा हेभी वेट च्याम्पियनले १ लाख ५० हजार रुपैयाँ, हार्डकोर च्याम्पियनले १ लाख २० हजार, मिडल वेट च्याम्पियनले ८५ हजार, ट्याग टिम च्याम्पियनले ७५ हजार, लाईट वेट च्याम्पियनले ५० हजार र ट्रिपल थ्रेट च्याम्पियनले ४५ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । रेफ्रीको रुपमा प्रदिप पाण्डे, विकास खड्का र शिसम मैनी रहने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रदेश सरकारले प्रतियोगिता आयोजनाका लागि १० लाख रुपैयाँ उपलब्ध गराउनेछ । अन्य नीजि क्षेत्र, जिल्लाका स्थानीय तह सहितका निकायको सहयोगबाट बाँकी रकम जुटाउने आयोजकले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।