शंखरापुर सालिनदीमा निर्माण हुने माधवनारायण मन्दिर शिलान्यास
कपन अनलाइन
काठमाडौं, असोज १४ । शंखरापुर नगरपालिका सालीनदी किनारमा श्री माधवनारायण स्वस्थाती व्रत तथा शालिनदी सुधार समितिले बनाउन लागेको माधवनारायणको मूल मन्दिरको आज शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापाले संयुक्त रुपमा भुमिपुजन सहित सिलान्यास गरेका छन । शिलान्यास कार्यक्रमलाइ सम्बोधन गर्दै शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले शालिनदी क्षेत्र शंखरापुरको गौरव भएको बताउँदै प्रत्येक वर्ष कागेश्वरी मनोहरा नगरपालिकाबाट प्राप्त हुने रकम र गोकर्णेश्वर नगरपालिकाबाट प्राप्त हुने रकम सोहि क्षेत्रमा लगानी गर्दै आईरहेको जानकारी गराएका छन ।
शंखरापुरको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बज्रयोगिनी र शालिनदी क्षेत्रलाई विशेष महत्व दिइएको बताउँदै स्वस्थानी मन्दिर बनिसकेपछि माधवनारायण ओझेलमा परेको हो कि भन्ने धेरैलाई लागेको थियो । सोही कारण समितिले गत वर्षबाट सुरु गरेको माधवनारायणको मूल मन्दिर निर्माण सम्बन्धी योजना यो वर्ष सुरु भएकोमा खुशी व्यक्त गर्दै सो कार्यको लागि रकमको कुनै खाँचो नहुने जानकारी गराएका थिए । उक्तकार्यक्रममा बोल्दै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापाले गत वर्ष र यस वर्ष समेत आफ्नो नगरपालिकाले ५०–५० लाख शालिनदी क्षेत्रको लागि विनियोजन गरेको जानकारी गराउदै आफु त्यसै क्षेत्रको बासिन्दा भएको र साँखुको शालिनदी तीर्थमा प्रायः आईरहेको हुँदा सो क्षेत्रको बढी माया लाग्ने बताएका थिए ।
कार्यकमको अध्यक्षता समेत गरेका श्री माधवनारायण स्वस्थाती व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले गत वर्ष कोरोना महामारीका बीच व्रत पूजा सञ्चालन गर्दा समेत भक्तजनले दिने दान दक्षिणमा कमी नआएको हुँदा यस वर्ष भक्तजनहरुले दिने दानबाटै श्री माधवनारायणको मूल मन्दिर बनाउन सकिने बताउदै दान दातव्यको लागि सम्पूर्ण भक्तजनहरु, नगरपालिका र विभिन्न संघसंस्थाहरुलाई आग्रह गरेका थिए ।
शंखरापुर नगरपालिकाका उप मेयर शुक्रलक्ष्मी श्रेष्ठले स्वागत मन्तब्य राखेको कार्यक्रमलाइ शंखरापुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले धन्यबाद ज्ञापन गरेका थिए भने उक्त कार्यक्रम संचालन एलपी श्रेष्ठले गरेका थिए । कार्यक्रममा शंखरापुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ सहित जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।खोलातिरबाट हेर्दा ३ तल्ले र भीमसेन पाटी तर्फको साईडबाट हेर्दा २ तल्ले देखिनेछ ।यस मन्दिरको लागत ३ करोड ५० लाखको अनुमान गरिएको छ ।सो मन्दिरको सम्पूर्ण डिजाईन र प्राविधिक काम साँखु सुन्टोल निवासी आर्टिटेक्ट ई. अनिल श्रेष्ठले गरेका हुन ।
फोटो सौजन्य : लावण्य संदेश