कर्णेल लामाको मुद्दामा बयान दिन सात नेपाली लण्डनमा, कर्णेल लामाको बारेमा संसदीय समितिको चासो

कर्णेल लामाको मुद्दामा बयान दिन सात नेपाली लण्डनमा, कर्णेल लामाको बारेमा संसदीय समितिको चासो

काठमाडौ, २८ फागुन। युद्धअपराधको आरोपमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामाको मुद्दामा बयान दिन घटनासँग सम्बन्धित कपिलवस्तुका सात जना बेलायतको लण्डन पुगेका छन् ।

kumar-lama-266x300
लण्डनको सेन्ट्रल क्रिमिनल कोर्ट ओल्डबेलीमा जारी सुनुवाईका लागि यातना पीडित जनक राउत सहित सात जना बेलायत पुग्नु भएको हो । एड्भोकेसी फोरमको सहयोगमा तत्कालिन यातना पीडित राउत, घटनाका साक्षी कपिलवस्तु चन्द्रौटाका विष्णुप्रसाद अधिकारी, अर्जुन केसी, डिलाराम अधिकारी, अयोध्या थारु, युवराज गिरी तथा कपिलवस्तुका इन्सेक प्रतिनिधी नन्दराम पौडेल बयान दिन लण्डन पुग्नु भएको छ ।
सेन्ट्रल क्रिमिनल कोर्टले घटना बारे बयान लिन पीडित राउत तथा साक्षीहरुलाई लण्डन झिकाएको थियो । पीडितहरुको तर्फबाट वकिल बबी चिमाले बहस गरिरहेको बयान दिन पुग्नु भएका मध्येका अर्जुन केसीले टेलिफोन मार्फत जानकारी दिनुभयो । नेपालले यातना विरुद्ध राष्ट्रसंघीय महासन्धीमा हस्ताक्षर गरेकाले लामालाई सन २०१३ जनवरी ३ मा परिवार भेट्न जादा बेलायतमै पक्राउ गरिएको थियो ।
कर्णेल लामाको बारेमा संसदीय समितिको चासो
वेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामालाई स्वदेश फर्काउने बारेमा व्यवस्थापिका संसदको सामाजिक न्या तथा मानव अधिकार समितिले चासो देखाएको छ ।
समितिले कर्णेल लामालाई स्वदेश फिर्ता गराउने बारेमा प्रधानमन्त्री सुशील कोइराला र प्रधान सेतापति गौरवशमशेर जबरासँग छलफल गर्ने भएको छ । समितिले भोलि कर्णेल लामाको बारेमा छलफलका लागि प्रधानमन्त्री र प्रधानसेनपतिलाई बैठकमा बोलाइएको सूचना आज जारी गरेको छ । रक्षा सचिवलाई भोलिको बैठकमा बोलाइएको समितिले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।