गलाक मुवाँथाई फाइट हुने

कपन अनलाइन

काठमाण्डौ ,असोज ८।

राष्ट्रिय मुवाँथाई संघ नेपाल र गलाक द लाइफ स्टायल प्रा.लि. को संयुक्त आयोजनामा प्रथम गलाक मुवाँथाई फाइट असोज २० गते हुने भएको  छ ।
आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले बिहीबार पत्रकार सम्मेलन गरी एकदिने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने जानकारी गराए ।
फाइटअन्तर्गत पुरुषमा ७ र महिलामा १ भिडन्त हुने छ । प्रत्येक स्पर्धामा समान २–२ खेलाडीबीच प्रतिस्पर्धा हुने अध्यक्ष कक्षपतिले जानकारी दिए ।
उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई काठमाडौंमै ३ महिनापछि हुने गलाक ग्रान्ड च्याम्पियनसिपका लागि छनोट गरिने छ । त्यस्तै उत्कृष्ट २ खेलाडीलाई गलाकले अनुबन्ध गर्ने पनि अध्यक्ष कक्षपतिले बताए ।
प्रतियोगितामा केन्द्रीय मुवाँथाई क्लब, गलाक मुवाँथाई क्लब, जिमखाना मुवाँथाई क्लब, गोकर्णेश्वर मुवाँथाई क्लब, सुकेधारा मुवाँथाई क्लब, फ्रेन्डसिप मुवाँथाई क्लब र नेपाल आर्मीका खेलाडीको सहभागिता रहने छ । पत्रकार सम्मेलनमा गलाकका प्रबन्ध निर्देशक अतित भण्डारी, फुल कन्ट्याक्ट करातेका मुख्य प्रशिक्षक प्रेमनाथ श्रेष्ठलगायतको उपस्थिति थियो ।

तपाइँको प्रतिक्रिया ।