पलेशालाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघको सम्मान

कपन अनलाइन

काठमाण्डौ ,असोज ८।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले टोकियो पारालिम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।
खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, महासचिव शिवसुन्दर गोथेलगायतले पलेशालाई नगद १० हजार रुपैयाँ र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे। सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।
पारालिम्पिकमा नेपालबाट सहभागी एक मात्र खेलाडी पलेशाले रिपाचेजमा २ खेल जित्दै कांस्य पदकनजिक पुगेकी थिइन् । रिपाचेजको पहिलो खेलमा अमेरिका र दोश्रोमा सर्बियाकी खेलाडीलाई हराएकी पलेशा फाइनलमा चीनकी खेलाडीसंग चुकेकी थिइन् । त्यसअघि मुख्य ‘ड्र’ को पहिलो खेलमा पलेशा बेलायतकी खेलाडीसंग पराजित भएकी थिइन् ।
पारालिम्पिकको प्रदर्शनपछि पलेशा विश्व वरीयताको ५ औं स्थानमा उक्लिएकी छन् । त्यसअघि पलेशा वरीयताको १३ औं स्थानमा थिइन् ।

तपाइँको प्रतिक्रिया ।