विश्वकप क्रिकेटमा श्रीलंकाले स्कटल्याण्डको सामना गर्दै
काठमाडौ, २७ फागुन। बंगलादेशले सोमबार इङ्ल्यान्डलाई हराएपछि साबिक विजेता श्रीलंका समूहगत चरणमा एक खेल खेल्न बाँकी रहँदै क्वार्टरफाइनल पुग्ने निश्चित भयो। अघिल्लो खेलमा अस्ट्रेलियासँग पराजित भएपछि श्रीलंकाको अन्तिम आठको यात्राबारे निक्र्योल हुन सकेको थिएन।
आफैंले क्वार्टरफाइनल यात्रा तय गर्न नसके पनि श्रीलंकाले आज स्कटल्यान्डको सामना गर्दा क्वार्टरफाइनलमा कस्तो प्रतिद्वन्द्वी पाउने भन्ने तय गर्नेछ। श्रीलंकाले स्कटल्यान्डलाई हराउन सके बढीमा समूहको उपविजेता बन्ने सम्भावना हुन्छ।
तर अस्ट्रेलियाले पनि आफ्नो अन्तिम खेलमा स्कटल्यान्डको सामना गर्ने भएकाले जितको नतिजामा पनि श्रीलंका समूह उपविजेता हुने सम्भावना कम छ। तर समूहको तेस्रो स्थानमा रहने सम्भावना भने करिब पक्का हुनेछ। बंगलादेशले अन्तिम खेलमा न्युजिल्यान्डसँग खेल्ने भएकाले श्रीलंकाले स्कटल्यान्डलाई हराए समूहमा तेस्रो हुने लगभग निश्चित छ।
श्रीलंकाको ब्याटिङ उच्च लयमा देखिएको छ। माथिल्लो क्रमका ब्याट्सम्यान कुमार सांगाकारा, तिलकरत्ने दिलसान, माहेला जयाबद्र्वनेले राम्रो प्रदर्शन गरिरहेका छन्।
अघिल्लो खेलमा अस्ट्रेलियासँग तीन सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले मध्यम प्रदर्शन गरेको थियो। उक्त खेलमा श्रीलंकन बलर फिक्का देखिएका थिए। श्रीलंकालाई चोटले सताएको छ।
चार खेलाडी चोटकै कारण टोलीमा परिवर्तन गरिएका छन्। अस्ट्रेलियाविरुद्व राम्रो प्रदर्शन गरेको दिनेश चन्दीमाल ह्यामस्ट्रिङका कारण प्रतियोगिताबाटै बाहिरिएका छन्।
अनुभवी स्पिनर रंगना हेराथ पनि चोटसँग संघर्ष गरिरहेका छन्। स्कटल्यान्डविरुद्वको खेल भने हेराथ उपलब्ध हुने छैनन्। चन्दीमालको स्थान कुशल परेराले लिन सक्ने जनाइएको छ।
जारी विश्वकपमा राम्रो प्रदर्शन गरिरहे पनि जित हात पार्न नसकेको स्कटल्यान्ड अप्रत्याशित नतिजा निकाल्ने प्रयासमा हुनेछ।
सन् १९९९ मा पहिलो पटक विश्वकप खेलेको स्कटल्यान्डले यो प्रतियोगितामा हालसम्म जित हात पार्न सकेको छैन। यसअघि यी दुई टोलीबीच एक पटक मात्र भेट भएको छ जसमा श्रीलंका विजयी भएको थियो।
सन २०११ मा भएको एक एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा श्रीलंकाले स्कटल्यान्डलाई एक सय ८३ रनले हराएको थियो। स्कटल्यान्डका कप्तान प्रेस्टन मोम्सेनले टोलीले शतप्रतिशत प्रदर्शन गर्न सके ठूला टोलीलाई हराउन सक्ने क्षमता भएको बताए।
‘हामीले अझै पनि आफ्नो पूर्ण क्षमता देखाउन सकेका छैनौं। यदि त्यसमा सफल भयौं भने जुनसुकै टोलीलाई पनि हराउन सक्छौं’ मोम्सेनले भने। – एजेन्सी