चाँगुनारायणमा नेपाल स्काउटको दीक्षान्त सम्पन्न
कपन अनलाइन
काठमाण्डौ , भाद्र १३/ नविना श्रेष्ठ
चाँगुनारायण नगरपालिकाका स्थानीय स्काउटका संरक्षक प्रमुख स्काउट र सदस्य सचिवको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोह सम्पन्न भएको छ।
भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, उपप्रमुख बिना बास्तोला, शिक्षा शाखा प्रमुख विर बहादुर खड्कालाई नेपाल स्काउट का राष्ट्रिय संयोजक लोकवहादुर भण्डारीले स्काउट दीक्षान्त एवं पद तथा गोपनीयताको शुक्रबार शपथ ग्रहण गराउनुभएको थियो। समारोहमा आफ्नो मन्तव्य राख्दै चाँगुनारायण नगरपालिका प्रमुख स्थानीय स्काउटका संरक्षक सोम प्रसाद मिश्रले अबका दिनहरुमा चाँगुनारायण पालिकामा सबै शैक्षिक संस्थामा स्काउट शिक्षा अनिवार्य गर्ने बताए।
आफूलाई पनि नेपाल स्काउट मनपरेको तर केही समयको ब्यस्तताको कारणले आफू स्काउटमा जोड्न नसकेको र स्काउटका पोशाक भिर्न नपाएको दुख व्यक्त गर्दै बचपन देखीको ईच्छा पूरा भएको र अब चाँगुनारायणमा आफूजस्तै रहर भएर पनि स्काउट मा जोड्न नसकेका युवाहरु सबैलाई जोड्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकवहादुर भण्डारीले भक्तपुर जिल्लाले नेपाल स्काउटको विकासक्रममा ठूलो योगदान रहेको तथा आउँदा दिनहरुमा चाँगुनारायण नगर स्काउटले उक्त विरासलाई निरन्तरता दिने विश्वास व्यक्त गरेका छन्। स्काउट प्रेमी व्यक्तित्वहरूसँग साथमा रहेर आगामी दिनहरुमा स्काउटको गतिविधिहरु अझ उच्च स्थान सम्म पुर्याउन चाँगुनारायण नगरका स्काउटहरुका साथ र सहयोग हुने बताए।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका स्थानीय स्काउटका प्रमुख स्काउट बिना बास्तोला, नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई, पूर्वराष्ट्रिय सचिव पूर्व जिल्ला आयुक्त राम गोपाल आचार्य, पूर्व राष्ट्रिय तालिम आयुक्त भक्त राज भण्डारी, बागमती प्रदेशका संयोजक केश रत्न ब्रजाचार्य, प्रदेश सदस्यहरू शिवराम अर्याल , अच्युत प्रजापति, अजित लामा, चाँगुनारायण नगरपालिका संयोजक उमेश प्रसाद सिंह, भक्तपुर नगरपालिका संयोजक कृष्ण सुन्दर प्रजापति, चाँगुनारायण तदर्थ समिति सदस्य राज कुमार जरेजु, स्काउट लिडर हरि गोपाल श्रेष्ठ, सुर्यविनायक नगरपालिका पूर्व जिल्ला समन्वय आयुक्त शिव कुमार त्वायना, स्काउट रेन्जर सिता लक्ष्मी देशेमरु लगायतको उपस्थिति रहेको थियो।
तपाइँको प्रतिक्रिया ।