कविता : त्रिलोचन आचार्य

कपन अनलाइन
काठमाडौं, भाद्र ५ ।

रम्दै यही कलममा प्रिय बास गर्नू
आएर घामसरि दिव्य प्रकाश छर्नू
गर्नेछु हार्दिक बनीकन ध्यान तिम्रो
आऊ म गर्छु कविता जय–गान तिम्रो ।

छन् फूल मग्मग यहाँ सुख भर्न खोज्ने
डुल्दैछ शान्ति पनि यैँ शुभ गर्न खोज्ने
बढ्दैछ नित्य जगमा अझ सान तिम्रै
आऊ म गर्छु कविता जय–गान तिम्रो ।

छन् कल्पना मन मनै जब दङ्ग पर्दै
खोज्छे सधैँ प्रकृतिले पनि रङ्ग भर्दै
छाड्दैन भर्न खहरे पनि कान तिम्रो
आऊ म गर्छु कविता जय–गान तिम्रो ।

खै व्यास लेख्न ? नभनेस् ऋषि छन् अनेक
खै दृष्टि छैन ? नभनेस् छ सफा विवेक
भन्दैछ व्योम ‘ छ चुलीसरि मान तिम्रो
आऊ म गर्छु कविता जय–गान तिम्रो ।

टाढा तिमी यदि भए म विलाउनेछु
आए तिमी सलल बास म मिलाउनेछु
चाहन्छु डुल्न म अझै पर, यान तिम्रो
आऊ म गर्छु कविता जय–गान तिम्रो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।