विश्वास नेपालको आयोजनामा काठमाडौँ महानगरपालिका र ट्रेड युनियनहरू बीच छलफल

विश्वास नेपालको आयोजनामा काठमाडौँ महानगरपालिका र ट्रेड युनियनहरू बीच छलफल

कपन अनलाइन

काठमाण्डौ  ,साउन ६।

काठमाडौँ महानगरपालिकाका उप–प्रमुख हरिप्रभा खड्गीले मनोरञ्जन तथा सत्कारको क्षेत्रलाई व्यवस्थित बनाउन सके धेरैलाई रोजगारीको सुनिश्चित गर्न सकिने बताउनुभएको छ ।
विश्वास नेपालद्वारा आयोजित ‘मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरूको नीतिगत सवालमा काठमाडौँ महानगरपालिका र ट्रेड  युनियनहरूबीचको छलफल’ कार्यक्रममा उप–मेयर खड्गीले स्थानिय तहमा श्रमिकको तथ्याङ्क राख्ने कामको थालनी गरेर अनौपचारिक क्षेत्रका श्रमिकको श्रमको पनि सम्मान गर्न ढिलाई नगरौं भनेकी थिइन्  ।
उक्त क्षेत्रमा काम गरेका व्यक्तित्वहरूको समुहले स्थापना गरेको विश्वास नेपालले दोहोरी साँझ, रेष्टुरेन्ट बार, पव, मसाज पार्लरलगायतका व्यवसायमा उपलब्ध रोजगारीलाई सम्मानित, मर्यादित बनाउन व्यवसायी र श्रमिकलाई पैरवी गर्नुको साथै नीति निर्माणको पक्षलाई पनि यस क्षेत्रको समस्याका बारेमा घचघच्यादै आएको छ ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँगे्रस आइएलओ –(अन्तर्राष्ट्रिय श्रम सङ्गठन) का गभर्निङ वडीका सदस्य आशा सिंह राठौरले निरन्तर सत्य कर्ममा जुटेर पेशालाई सम्मानित बनाउन श्रमिकलाई आग्रह गर्नुभयो ।
उहाँले विगतमा नर्स र एयर होस्टेस पेशालाई पनि नेपाली समाजले पचाएको थिएन, त्यस पेशामा संलग्न महिला/ किशोरीलाई हेर्ने दृष्टिकोण राम्रो थिएन, अहिले त्यस पेशालाई सम्मानित रूपमा हेर्न थालेको बताउनुभयो ।
त्यसैगरी यस क्षेत्रको श्रम, पेशा, रोजगारीको अवश्य पनि सम्मान हुने दिन आउनेछ, त्यसका लागि नआत्ति काम गरौं भन्ने आग्रह राठौरको रहेको छ ।
त्यसैगरी नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य बलदेव तामाङले यस क्षेत्रका श्रमिकले भोग्दै आएको समाजको दुव्र्यवहार निक्कै पीडादायी अवस्था हो भन्दै श्रम आफैंमा कहिल्यै गलत हुँदैन, काम गरेर खान पाउनुपर्छ भन्नुभयो ।
साथै सङ्गठन नै बल भएकोले श्रमिकहरूलाई सङ्गठनमा आवद्ध हुने आफुमा सिप दक्षताको पनि विकास गर्दै सङ्गठीत हुन आव्हान गर्नुभयो ।
विश्वास नेपालमा पैरवीकर्ताका रूपमा कार्यरत रसना ढकालले श्रमिकका लागि राहत, काउन्सिलिङ, फिल्ड भिजिट, मिलन केन्द्र स्वास्थ्य र कानुन सम्वन्धी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
संस्थाका कार्यकारी निर्देशक बालकुमारी आलेले यस क्षेत्रका श्रमिकलाई आत्मसम्मानपूर्वक आफ्नो पेशाको पहिचानसहित बाँच्न पाउने हकका लागि संस्थाले विगत तेह्र वर्षदेखि काम गरिरहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष तारा भण्डारीले यस क्षेत्रलाई राज्यले नीति नियम बनाएर व्यवसाय र यस क्षेत्रका श्रमिकको हितका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।
लोकदोहोरी गायिका गङ्गा बरालले कला प्रस्तुत गर्ने, श्रम गरेर खाने वर्गका लागि मनोरञ्जन क्षेत्रले शैक्षिक प्रमाणपत्र नखोजी रोजगारी दिने भएकोले पनि यस क्षेत्रमा रोजगारी पाउन सजिलो हुने तर नियम नहुँदा बेथिति पनि छ भन्नुभयो ।कोरोनाले व्यवसाय बन्द भएपछि व्यवसायी र श्रमिक दुबै मारमा परेको बताउनुभयो ।
लोक दोहोरीमै वाद्यवादकका रूपमा कार्यरत भरत भट्टले यस क्षेत्रमा अथाह लगानीका साथै रोजगारीको अवसर पनि छ, तर नीति नियमसहित श्रमिक र व्यवसायीको हितका लागि राज्यले हेर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय खोल्न दिनुपर्ने माग पनि गर्नुभयो ।
नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी सङ्घका अध्यक्ष विनोद श्रेष्ठले कोरोना महामारीका कारण दुई वर्षदेखि व्यवसाय बन्द हुँदा व्यवसायी र यस क्षेत्रका श्रमिक सधैंका लागि पलायन हुने स्थितिमा पुगेको बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले सङ्घमा आवद्ध देशभरका एकसय ३४ लोकदोहोरी रेष्टुरेण्ट व्यवसायसहित सबै रात्रीकालिन व्यवसायकर्मी र त्यहाँ कार्यरत सबै श्रमिकको अवस्थाका बारेमा राज्यले ध्यान नदिएको पनि गुनासो गर्नुभयो ।
त्यसैगरी संस्थाका हाम्रो सम्मान परियोेजनाका संयोजक विवेक शर्माले परियोजनाले मनोरञ्जन क्षेत्रका श्रमिकको सशक्तिकरणका लागि देशभरमा गरी ३७ वटा कार्यक्रम, श्रमिकको राष्ट्रिय भेला, पाँचसय अनुगमन, मनोपरामर्श, पैरवीलगायतका कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।