कागेश्वरी मनोहरा नगरपालिकाले घुम्ती टोलि मार्फत कोरोना बिरुद्दको खोप लगाउने
कपन अनलाइन
काठमाडौँ, श्रावण १ । कागेश्वरी मनोहरा नगरपालिकाले घुम्ती टोलि मार्फत कोभिड-१९ बिरुद्दको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । नगरपालिकाले ५ वटा खोप केन्द्र तोकी खोप प्रदान गर्दा समेत भिड भाड नघटे पछि नगरपालिकाको स्वास्थ्य शाखाले घुम्तिटोलि मार्फत खोप लगाउन लागेको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिएका छन ।
उनका अनुसार प्रत्येक वडामा घुम्ती टोलि मार्फत खोप लगाउने योजना अनुरुपआज गागल स्वास्थ्य केन्द्रमा र भोलि श्रावण २ गते आदर्श नमुना मा बी भद्रबासमा कोभिड-१९ बिरुद्दको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा खोप लगाउन लागिएको पनि नगर प्रमुख थापाले जानकारी गराए । उनले खोप केन्द्रमा अत्याधिक भिड बढेको कारण कोरोनाको जोखिम कम गर्न पनि घुम्ती सेवा फलदायी हुने बिश्वास ब्यक्त गरेका छन ।
नगरपालिकाले असार २९ गते देखि श्रावण २ गते सम्म ५५ वर्ष माथिका एक मात्रा पनि खोप नलगाएका ब्यक्तिहरु, विश्वबिद्यालय, बिध्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक सहचालकहरु, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न ब्यक्तिहरु र खोप अनिवार्य गरेको देशमा जाने व्यक्तिहरुका लागि कोभिड-१९ बिरुद्दको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइरहेको छ। त्यसै गरि नगरपालिकाले श्रावण १ गते वडा नं २ आलापोट खोप केन्द्र बाट खोप लगाउने कार्य बन्द गरिएको पनि जानकारी गराएको छ ।