भित्तेलेखन सर्वोच्चको आदेश र महानगरको कानुन विपरित छ : प्रमुख विद्या सुन्दर शाक्य

भित्तेलेखन  सर्वोच्चको आदेश र महानगरको कानुन विपरित छ : प्रमुख विद्या सुन्दर  शाक्य

कपन अनलाइन

काठमाण्डौ ,असार २२ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकाले बनाएको कानुन–नीति र सर्वोच्चको फैसलालाई सबैले पालना गर्नुपर्नेमा बताउनु भएको छ ।

नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘हामी नीति बाहिर जानुहुन्न,’ शाक्यले भन्नुभयो, ‘सर्वोच्च अदालतको फैसला र महानगरपालिकालको कानुन–नीतिलाई उल्लङ्घन गर्न पाइन्न । जे नीति छ, त्यही नीति कार्यान्वयनमा लाग्नुपर्छ ।’ शाक्यले ‘कोभिड फ्रन्टलाइनर’ हरुको सम्मानमा बनाइएका भित्तेचित्र मेयरले मेटायो भनेर बढी नै प्रचार गरेको बताउनुभयो । ‘कार्टुन बनाएर मेरो प्रचार गरियो । उहाँहरुलाई व्यक्तिगतरुपमा धन्यवाद,’ शाक्यले भन्नुभयो, ‘तर, सर्वोचको आदेश र महानगरपालिकाको कानुन–नीति उल्लङ्घन गरी जथाभावी भित्तेचित्र कोर्न पाइन्न ।’ प्रमुख शाक्यले सकारात्मक सुझाव ग्रहण गर्न तयार रहेको बताउनुभयो ।

‘सकारात्मक सुझाव ग्रहण गर्न तयार छु,’ शाक्यले भन्नुभयो, ‘सर्वोच्च अदालतले २०७२ सालमै सहरका घर, पर्खाल, बिजुलीको पोल लगायतमा रहेका पर्चा, पम्पलेट, भित्तेलेखन, होडिङबोर्ड, विज्ञापन बोर्ड हटाउन र थप राख्न नदिन आदेश दिएको स्मरण गराउन चाहन्छु । त्यसैले मेयरलाई देखाइन्छिौँ भनेर नीति–नियमको उल्लङ्घन गरी योजनावद्द ढंगले अघि बढ्ने हो भने कोही पनि लक्ष्यमा पुग्न सक्दैनौँ ।’

०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगर क्षेत्रका होडिङ बोर्डहरु, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउन आदेश दिएको थियो । महानगरपालिकाको निर्देशिका र विज्ञापन नीतिले पनि विज्ञापन तथा प्रचार सामग्री र भित्तेलेखनमा रोक लगाएको छ ।

सर्वोच्चको आदेशलाई कार्यान्वय गर्दै विगतमा पनि त्यस्ता सागम्री हटाउने कार्य गरेको स्मरण गराउन चाहन्छु,’ उहाँले भन्नुभयो, ‘पैसा तिरेर विज्ञापन राख्छौँ भन्दा पनि हामीले सर्वोेच्चको आदेश र महानगरपालिकाको नीति पालना गर्दै त्यसो गर्न नदिएको हो । त्यसबाट आयस्रोत त हुन्थ्यो नि हामीले नीति छैन भनेर दिएनौँ । त्यसैले सर्वोेच्चको आदेश र महानगरको नीति मेयर, उपयमेरले मात्रै होइन वडाध्यक्ष, सदस्य, कर्मचारी सबैले मान्नुपर्छ ।’ उहाँले यस अघि पनि दरबार हाइस्कुल, त्रिचन्द्र कलेज, वीर अस्पताल अगाडि, नेशनल ट्रेडिङलगायतका स्थानका भित्तामा लेखिएका सामग्री हटाएको जानकारी दिनुभयो ।

‘नीति सबैका लागि बराबर हुन्छ,’ शाक्यले भन्नुभयो, ‘पहिलो पटक रत्नपार्कको भित्तेचित्र मेटाएको जसरी प्रचार भैरहेको छ । त्यो होइन, निधेष गरिएका अन्य ठाउँमा पनि अनुमति नलिइ बनाएका त्यस्ता सामग्री हटाएका छौँ ।’ ‘सहकार्यबाट कोभिड फ्रन्टलाइनरको सम्मान’ उहाँले स्वास्थ्यकर्मी, सेना, प्रहरी, पत्रकार, कलाकारहरुको मनोवल उच्च बनाउन सहकार्य आवश्यक रहेको प्रष्ट पार्नुभयो ।

‘निधेष गरिएको स्थानमा कोरेको भित्तेचित्रले मात्रै उहाँहरुको सम्मान हुँदैन । उहाँहरुसँग सहकार्य गरेर अघि बढ्नुपर्छ । त्यो महानगरपालिकाले गरिरहेको छ,’ उहाँले भन्नुभयो ‘स्वास्थ्यकर्मी, सेना, प्रहरी, पत्रकार, कलाकारहरुको मनोवल उच्च बनाउनुपर्छ भनेर महानगरपालिकाले सक्दो सहयोग गरेको विदितै छ ।’ काठमाडौँ महानगरपालिकाले महानगरपालिका क्षेत्र बाहिरका नागरिकले समेत स्वास्थ्य सेवा प्राप्त गर्न पाउनुपर्छ भन्ने मान्यताका साथ कार्य गरिरहेको छ ।

उहाँले नेपाल सरकारद्वारा सञ्चालित विभिन्न कोभिड अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउन आवश्यक सहयोग गरेको स्मरण गराउनुभयो । ‘स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउन सरकारी र सामूदायिक अस्पतालमा हामीले आर्थिक, भौतिक, प्रविधिगत र प्रणाली विकास गर्ने कार्यमा सहयोग गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘काठमाडौँ महानगर क्षेत्र भन्दा बाहिरका अस्पतालसँग समेत महानगरपालिकाले सहकार्य गरेर त्यहाँका स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउने कार्य गरेको छ ।

त्यसैले हामीले कसरी उहाँहरुको सम्मानमा आघात पुग्ने काम गर्यौँ ?’ ’ शाक्यले महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित विदेशका विभिन्न नगरहरुले कोभिड नियन्त्रण र रोकथामका लागि उपलब्ध गराएको स्वास्थ्य सामाग्री वीर अस्पताल, कान्तिवाल अस्पताल र थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई पीसीआर मेसिनसहितका अत्यावश्यक सामग्री हस्तान्तरण गरेको स्मरण गराउनुभयो । ‘त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सीटी क्यान मिसिन खरीदका लागि आर्थिक अनुदान दिएका छौँ । छाउनी अस्पतालमा कामठाडौँ महानगरपालिकाकै सहयोगमा निशुल्क डाइलोसिसको व्यवस्था गरेका छौँ ।

काठमाडौंको ‘कोर–सिटी’ मा अवस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा कामपाको सहयोगमा ३५ शैयाको विशेष कोभिड अस्पताल सञ्चालनमा छ । महानरपालिकाकै सहयोगमा बसुन्धरामा निशुल्क कोभिड आइसोलेशन वार्ड सञ्चालन गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘यीचाँहि चिकित्सकको मनोवल उच्च बनाउन गरेका कार्य होइनन् ?’ ‘उम्मेदवार हुँदा हामी कसैले भित्तोमा प्रचार गरेनौँ’ चुनावका बेला सबै राजनीतिक दलले आफू अनुकुल नारा लेखेर प्रचार गर्न सक्थे नि भन्दै किन गरेनन्, भनी मेयर शाक्यले भन्नुभयो, ‘उनीहरुले नीति बाहिर जानु हुँदैन भनेर गरेनन् । म आफैँ पनि मेयरको उम्मेदवार थिएँ नि ? हामी कसैले पनि सर्वोच्च अदालतको फैसला, काठमाडौँ महानगरपालिकाकाको कानुन र नीति विपरीत जानु हुँदैन भनेर महानगरपालिकाका भित्तामा चुनावको प्रचार नगरेका हौँ ।’

मेयर शाक्यले आफु निर्वाचित भएर आएपछिको पहिलो नगरसभाले नै सर्वसम्मत रुपमा काठमाडौँ महानगरपालिकाको नारा ‘साँस्कृतिक शहर काठमाडौँ महानगर’ तय गरेको पनि स्मरण गराउनुभयो ।

‘उक्त नाराले पनि काठमाडौँ सहरलाई साँस्कृति शहरका रुपमा विकास गर्नुपर्ने हुन्छ,’ शाक्यले भन्नुभयो, ‘आफु खुशी जे–पाये त्यहि गर्दै जाने हो भने नाराको औचित्य नै समाप्त हुन्छ ।’ उहाँले आफु मेयर निर्वाचितपछि संघीय र प्रदेशसभाको निर्वाचनमा समेत सहरका कुनै पनि भित्तामा पर्चा, पम्पलेट, भित्तेलेखन गर्न नदिएको स्मरण गराउनुभयो । ‘संघीय र प्रदेशसभाको निर्वाचन हुँदा म काठमाडौँ महानगरपालिकाको मेयर थिएँ,’ उहाँले भन्नुभयो, ‘सहरका कुनै पनि भित्तामा मेयरको उम्मेदवार हुँदा र पछिका निर्वाचनमा समेत त्यस्तो कार्य गर्न निधेष थियो । त्यो बेला पनि त सुन्दर नारा लेख्न सकिन्थ्यो होला । त्यो निधेष गरिएको भएर नै नदिएको हो, नगरेको हो ।

आगामी निर्वाचनमा पनि ती कार्य निधेष नै गरिन्छ ।’ मेरो कार्यकर्ता हो, मेरो मान्छे हो, त्यसैले पाउनुपर्छ भन्ने ढंगले अघि बढ्ने हो भने समस्या हुने पनि उहाँले बताउनुभयो । ‘विज्ञप्ति जारी गर्ने साथीहरुलाई अनुरोध गर्न चाहन्छु । कम्तीमा पनि सर्वोच्चको आदेशलाई पालना गर्नुहोस् । हामी छौँ भनेर उचाल्ने परम्पराले थप समस्या सिर्जना हुन्छ ।

विज्ञप्ति नै निकालेर हामी छौँ भन्दै उचाल्नेहरुहरुलाई मेरो अनुरोध छ,’ उहाँले भन्नुभयो ‘नीति, आदेश केही नमान्ने हो भने कहाँ–कहाँ, कस–कसलाई के–के लेख्न दिने हो ? तपाईँहरु भन्नुहोस् । तर, आदेश, कानुन र नीतिको पालना त गर्नुपर्ला नि ?’

तपाइँको प्रतिक्रिया ।