मणिचुड र बज्रयोगिनीको प्रवर्धनका लागि बुद्ध सर्किट निर्माण गर्ने शंखरापुर नगरपालिकाको प्रस्ताव
कपन अनलाइन
काठमाण्डौ ,असार १६।
शंखरापुर नगरपालिकाले मणिचुड र बज्रयोगिनीको प्रवर्धनका लागि बुद्ध सर्किट निर्माणको प्रस्ताव गरेको छ। आव २०७८/७९ को नीति तथा कार्यक्रममा नगरपालिकाले ति क्षेत्रको धार्मिक तथा पर्यटन प्रवर्धनका लागि बुद्ध सर्किट निर्माणको प्रस्ताव गरेको हो।
विभिन्न धार्मिक रुपमा जोडिएका स्वयम्भु – बौद्ध – मणिचुड – बज्रयोगिनी र नमोबुद्ध लगायतका स्थानलाई जोड्ने पदमार्ग निर्माणका लागि प्रस्ताव गर्दै नगरपालिकाले यसका लागि आवस्यक प्रक्रिया अगाडी बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।
पर्या पर्यटनको विकासका लागि मणि चुड क्षेत्रको गुरुयोजना बनाउदै सो क्षेत्रलाई ऐतिहासिक धार्मिक पर्यटनको केन्द्र बनाउने घोषणा गरेको शंखरापुर नगरपालिकाले वडा नं ८ मकै चौर बाट कागेश्वरी मनोहरा वडा नं १ कुइकेल गाउँ जोड्ने झोलुंगे पुल निर्माण गर्ने योजना पनि अगाडी सारेको छ।
उक्त पुललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने घोषणा गर्दै नगरपालिकाले पर्यटन प्रवर्द्धन तथा सहजीकरण सुचना केन्द्र स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।