काठमाडौं धोबीखोला कोरिडोरबाट वृक्षारोपण सुरु
कपन अनलाइन
काठमाण्डौ ,असार १२।
वातावरण संरक्षण गरी हरियाली कायम गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकामा वृक्षारोपण शुरु भएको छ । शनिबार सडकको दायाँबायाँ पेटीमा वृक्षारोपण गर्दै सुरुवात गरिएको हो । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश निर्वाचन नम्बर १ को वडा नम्बर २, ४ र ५ को सडक पेटीमा वृक्षारोपण गरिनेछ । बिरुवा रोप्न मिल्ने सडक छेउ तथा अरू स्थानमा वृक्षारोपण गरिनेछ ।
हरियाली प्रवर्द्धन उपभोक्ता समितिले वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । जसमा डिभिजन बन कार्यालय काठमाडौंको सहयोग रहेको छ। कल्की, चाप, ज्याकरान्डा, समिलगायत ३ सय ७५ बिरुवा रोपिएको उपभोक्ता समितिका अध्यक्ष गणेश श्रेष्ठले बताए । प्रदेश सांसद नारायण सिलवालको पहलमा बागमती प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको कार्यक्रम अन्तर्गगत काठमाडौंमा हरियाली प्रवर्द्धन गर्न यो योजना ल्याइएको हो ।
शनिबार सुरु वृक्षारोपण कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रदेश सांसद नारायण सिलवाल र संविधानसभा सदस्य रत्न गुरुङको सहभागिता थियो । साथै, काठमाडौं महानगर-४ का अध्यक्ष मोहन विष्ट सदस्य, धुव्र त्रिपाठी, दिनेश महर्जनलगायत सहभागी थिए । सामाजिक दूरी कायम गर्दै भएको वृक्षारोपणमा स्थानीय, समाजसेवीलगायतको उपस्थिति थियो ।
वृक्षारोपणमा सहभागी काठमाडौं जिल्ला वन अधिकृत बद्रीकुमार कार्कीले आउँदा दिनमा समेत वृक्षारोपणमा सहयोग गर्ने बताए । कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रदेश सांसद सिलवालले वृक्षारोपण गरिएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण सहभागीलाई धन्यवाद व्यक्त गरे । काठमाडौंको सडक हरियाली बनाउने आफूहरूको योजना रहेको उनले सुनाए ।
अघिल्लो साल पनि ती क्षेत्रमा वृक्षारोपण गरिएको थियो । सडक छेवैमा रोपिएका ती वृक्षहरू बिस्तारै हुर्कंदै छन् । गत वर्षदेखि निरन्तर जारी वृक्षारोपण कार्यक्रम यस वर्ष सकिनेछ ।