मट्टीतेल खन्याई जलाइएकी लक्ष्मी भाटको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रिय महिला आयोग अस्पतालमा
कपन अनलाइन
कठमाडौँ, जेठ १९ ।
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले डोटीमा मट्टीतेल खन्याई जलाइएकी लक्ष्मी भाटको अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकि छन ।
एक साता अगाडि श्रीमानद्वारा जलाईएकी भाट र उहाँकी छोेरीको किर्तिपुर स्थित वर्न अस्पतालमा उपचार भइरहेको छ ।
सोही क्रममा आयोगका अध्यक्षसँगको भेटमा पीडित लक्ष्मी भाटले आफु र नाबालक छोरीलाई आगो लगाई ज्यान मार्ने प्रयास गर्ने आरोपित पति सन्तोष भाटलाई जन्मकैदको सजायको माग गरेकी छन।
डोटी जिल्ला आदर्श गाउँपालिका वडा– ४ बस्ने वर्ष २८ की लक्ष्मी भाटलाई दुई वर्षको छोरी अञ्जु भाट समेतलाई आफ्नै श्रीमान सन्तोष पन्तले ढोका बन्द गरी मट्टीतेल खन्याएर जलाएर सख्त घाइते बनाएको थियो । स्थानिय अस्पतालमा भाटको उपचार हुन नसकेपछि गृह मन्त्रालय र सम्बन्धित क्षेत्रका जनप्रतिनिधि समेतको समन्वय र पहलमा घाइते लक्ष्मी भाट र उनकी छोरीलाई हेलिकप्टरमार्फत उपचारको लागि सोमवार काठमाडौँ ल्याई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो ।
आयोगका अध्यक्ष पराजुलीले यस सम्वन्धमा डोटीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसँग वार्ता गरी दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन यस अघि नै आग्रह गरिसकेकी छन ।
उनले यस घटनाले महिला घरभित्रै आफ्नै परिवारबाट सुरक्षित नभएको अवस्था देखाएको भन्दै पीडकले हदैसम्मको सजायँ पाउनुपर्नेमा जोड दिईन ।
।
आयोगद्वारा सञ्चालित हेल्पलाइन ११४५ पनि हरेक दिन लैङ्गिक हिंसाको गुनासो, उजुरी बढिरहेको भन्दै अध्यक्ष पराजुलीले लैङ्गिक हिंसामा संलग्न हुनेलाई आयोगले कानुनको दायरामा ल्याउन र हिंसा हुन नदिन भर्चुअल माध्यमबाट विविध कार्यक्रम सञ्चालन गरिरहेको बताएकि छन।
आयोगले निषेधाज्ञामा घरमा रहेका महिला/किशोरीको मानसिक स्वास्थ्य अवस्थाको सुरक्षाको उद्देश्यले मनोपरामर्श जारी राखेको छ भने हिंसामा परिहाले उक्त हेल्पलाइनबाट २४ घण्टै उजुरी लिने र कानुनी सहयोग समेत सञ्चालन गरिरहेको छ ।
लक्ष्मी भाटलाई जस्तै तत्कालै सहयोग पुर्याउनु पर्ने अवस्थामा सम्वन्धीत जिल्ला प्रमुख, स्थानिय जनप्रतिनिधी, अधिकारकर्मीसँग सम्पर्कमा रहेर आयोगले निरन्तर आफ्नो काम जारी राखेको अध्यक्ष पराजुलीले बताईन ।
उनले हिंसा कुनै पनि समस्याको समाधान होइन, महमारीमा संयमित भएर आफु र आफ्नो परिवारको सुरक्षासहित बस्न पनि सबैलाई आग्रह समेत गरेकी छन ।