फ्रि भिसामा रोजगारीको अवसर बढ्दै

वैदेशिक रोजगारका लागि फ्री भिसामा प्रशस्त मागपत्र आउन थालेको छ । म्यानपावर कम्पनीले फ्री भिसामा पनि साधारण भिसाकै रूपमा कामदारसँग रकम लिइरहेका छन् । म्यानपावर व्यवसायीले मलेसिया, कतार र साउदी अरेबियाबाट ठूलो मात्रामा फ्री भिसामा मागपत्र आइरहेको जनाएका छन् । उनीहरूले मासिक ८ देखि १० हजारजना कामदारका लागि फ्री भिसामा मागपत्र आएको जनाए । नेपालबाट मासिक ४० हजार कामदार वैदेशिक रोजगारमा जान्छन् । वैदेशिक रोजगार विभागका उच्च कर्मचारीसँगको मिलेमतोका कारण म्यानपावर कम्पनी फ्री भिसामा पैसा उठाउँदा पनि कारबाहीबाट सुरक्षित हुँदै आएका छन् ।

विभागका निर्देशक बद्री कार्कीले फ्री भिसामा पैसा उठाउने म्यानपावर कम्पनीमाथि ठगीको कारबाही हुने बताए । ‘म्यानपावर कम्पनीले फ्री भिसामा पैसा संकलन गर्दा उनीहरूलाई ठगी अभियोगमा कारबाही हुन्छ,’ उनले भने, ‘यसमा विभाग कर्मचारीको मिलेमतो हुन सक्दैन ।’ विभागको काठमाडौं र मलेसिया शाखाले मिलेमतोमा फ्री भिसाको श्रम स्वीकृति दिइरहेको छ । विभागले १४ महिनादेखि म्यानपावर कम्पनीलाई कारबाही गर्न नसकेको रेकर्डबाट पनि मिलेमतोको आशंका स्पष्ट हुन्छ । गत आर्थिक वर्षमा फ्री भिसामा म्यानपावर कम्पनीले प्रतिकामदार १ लाख रुपैयाँसम्म लिँदै आएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष कुमुद खनालले विभागले फ्री भिसामा पैसा लिने म्यानपावर कम्पनीमाथि छानबिन भएमा संघले आपत्ति नगर्ने जानकारी दिए । ‘म्यानपावरले फ्री भिसामा कामदारसँग अत्यधिक रकम लिनु ठीक होइन,’ उनले भने, ‘विभागले सन्तुलनकारी निगरानी गर्न नसक्दा म्यानपावरमा अस्वस्थ प्रतिस्पर्धा बढेको छ ।’

 

विभागका शाखा अधिकृत उपेन्द्र न्यौपानेले मलेसिया र संयुक्त अरब इमिरेट्स (युएई)को आकर्षक रोजगारमा पठाउँदा सरकारी शुल्कभन्दा बढी रकम लिएर पठाउने भएकाले क्षतिपूर्तिमा समस्या बढेको बताए । ‘अब मलेसिया र युएई पठाउने म्यानपावर कम्पनीको फ्री भिसाबारे छानबिन हुनेछ,’ उनले भने, ‘अब ठगी गर्ने म्यानपावर कम्पनी जोगिन सक्दैनन् ।’ संघका पूर्वअध्यक्ष सोमलाल बाटाजूले म्यानपावर कम्पनीको सानो गल्तीलाई ठगीको रूपमा अपव्याख्या नगर्न आग्रह गरे । ‘गल्ती गर्दा सरकारी निकायले कारबाही गर्ने हिम्मत गर्नुपर्‍यो,’ उनले भने, ‘यसैले फ्री भिसामा पैसा लिनेलाई श्रम मन्त्रालय र विभागले कारबाही गर्न हिम्मत देखाउनुपर्‍यो ।’नयाँ पत्रिकाबाट –

तपाइँको प्रतिक्रिया ।