डा.राजन भट्टराईको प्रयास सफल :देवकोटा निवास ‘कविकुञ्ज’ लाई सङ्ग्रहालय बनाउने प्रक्रिया सुरु

डा.राजन भट्टराईको प्रयास सफल :देवकोटा निवास ‘कविकुञ्ज’ लाई सङ्ग्रहालय बनाउने प्रक्रिया सुरु

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १८।

काठमाडौँ क्षेत्र नं ४  डिल्लीबजारमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ‘कविकुञ्ज’ लाई सङ्ग्रहालय निर्माणको प्रक्रिया सुरु भएको छ ।

काठमाण्डौ क्षेत्र नं ४ मा रहेको सो निवासलाई साहित्यिक सम्पदाका रुपमा विकास गर्नका लागि निरन्तर पहल गरेका नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईको प्रयास अन्तत सफल भएको हो। पटक पटक स्थलगत निरीक्षण गरी नेपाल प्रज्ञा प्रतिष्ठान संग छलफल गरेका भट्टराईले आवस्यक बजेटको लागि अर्थमन्त्री विष्णु पौडेल संग बजेटका लागि पहल गरेका थिए।

सोहि पहल पश्चात  नेपाल प्रज्ञा प्रतिष्ठानले सो सङ्ग्रहालय निर्माणका लागि बोलपत्र आह्वान गरेको छ।महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ‘कविकुञ्ज’ लाई  विगतमा सङ्ग्रहालय निर्माण गरेका कम्पनीहरुका लागि २१ दिनको म्याद राखी बोलपत्र आह्वान गरिएको हो।

बोलपत्र आह्वान पश्चात  सम्पूर्ण प्रक्रिया पूरा गरी चालु आर्थिक वर्षभित्रमा नै छनोट भएका कम्पनीसँग निर्माण सम्झौता गरिने प्रतिष्ठानले जानकारी दिएको छ  ।

‘कविकुञ्ज’ निर्माणका लागि अर्थ मन्त्रालयबाट बजेटको समेत सहमति  भइसकेकोले आर्थिक वर्ष २०७८/७९ को साउनदेखि काम सुरु हुने जानकारी दिदै प्रतिष्ठानले  सङ्ग्रहालय निर्माणका लागि यसअघि नै विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको बताएको छ।

महाकवि देवकोटाको घरलाई सरकारले खरिद गरी प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा सुम्पेपछि प्रतिष्ठानले सङ्ग्रहालय निर्माण प्रक्रिया अगाडि बढाएकोथियो  ।
बाह्र आना क्षेत्रफलमा ११ करोड ३३ लाख रुपियाँको लागतमा प्रतिष्ठानले सो  घरको बाहिरी आकृतिलाई जस्ताको त्यस्तै राखेर आधुनिक उच्च प्रविधियुक्त सङ्ग्रहालय निर्माण गर्ने योजना तयार पारेको छ ।

चार तल्ले  सङ्ग्रहालय भवनको पहिलो तल्लामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका उपलब्ध सामाग्री, दोस्रो तल्लामा देवकोटाका प्रकाशित, अप्रकाशित र पाण्डुलिपि सङ्ग्रह गरिने भने   तेस्रो तल्लामा परामर्श कक्ष र सभाकक्ष निर्माण गरिने छ ।

तपाइँको प्रतिक्रिया ।