विवादित विषयमा जनमतसङ्ग्रह गर्नुपर्ने राप्रपा नेपालको माग

ra-pra-pa-Nepal

 

कपन अनलाइन\पुस ३०, २०७१

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) ले संविधानसभाको विवादित विषयमा जनमतसंग्रह गर्नुपर्ने माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बुधबार बसेको राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठकले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताजस्ता विवादित विषयमा आगामी फागुन वा चैत महिनामा जनमतसंग्रह गर्न दबाब दिने जनाएको छ ।

 

राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा पहिलो संविधानसभादेखि नै अडिग रहँदै आएको राप्रपा नेपालले माघ ८ गते संविधान जारी हुन नसक्ने भएमा विवादित विषयहरूमा चैत महिनाभित्रमा जनमतसंग्रह गरिनुपर्ने धारणा अघि सारेको हो । बैठकपछि जारी प्रेस विज्ञपित्मा हिन्दुराष्ट्र र धर्मनिरपेक्षता, गणतन्त्र र संघियताबारे जनमतसंग्रह आन्दोलनको मुख्य माग रहने जनाइएको छ ।

 

बैठकले माघ ४ गतेपछि दबाबमूलक कार्यक्रम आयोजना गर्ने बताइएको छ । दबाबमूलक आन्दोलनको कार्यक्रम अन्तर्गत माघ ४ गते हरेक जिल्ला सदरमुकाममा प्रदर्शन, ¥याली र सभा आयोजना गर्ने कार्यक्रम रहेको छ भने काठमाडौँ उपत्यकामा संविधान सभा भवन वानेश्वरमा धर्ना र घेराउको कार्यक्रम रहेको राप्रपा नेपाल निकट स्रोतले बताएको छ । संघर्षकै कार्यक्रमअनुरुप माघ ६ गते सनातन हिन्दुराष्ट्रको पक्षमा संकलित हस्ताक्षरहरू संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाउने बताइएको छ ।

 

कार्यक्रममा बोल्दै राप्रपा नेपालका नेताहरूले संविधान नबन्नुमा प्रमुख चार दलका शीर्ष नेताहरू दोषी रहेको बताएका थिए । नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा माओवादी र मधेशवादी दलका शीर्ष नेताहरूले माघ ८ मा संविधान जारी गर्न नसके आत्मालोचना गर्नुपर्ने बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।